RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/४ गते
५६७ पटक

मुगु — सुमन मल्लले ‘सुइना कर्णालीका’ नाटकमार्फत कर्णालीको स्वर्णिम सपना संसारलाई सुनाए । ‘कर्णाली दख्खिन बग्दो छ’ झन् बेजोड नाटकका रूपमा चर्चित बन्यो, जसले कर्णालीको कथाव्यथा बाहिर ल्यायो । दलित समुदायको पीडा प्रस्तुत गरिएको ‘सुइना कर्णालीका’ मा हुड्के बनेर उनले दर्शकको वाहवाही पाए ।

उनी कर्णालीलाई थप नाटक दिन चाहन्थे । तर उनको त्यो सपना अहिले ओछ्यानमा थला परेको छ । कर्णालीको कला क्षेत्रमा अमूल्य सम्पदा बनेका यिनै दुई नाटकका लेखक तथा कलाकार मल्ल दुई वर्षदेखि थला परेका छन् । मधुमेह र उच्च रक्तचापबाट थलिएका ४१ वर्षीय उनी खर्च नहुँदा आँगनबाट बाहिर निस्किन सकेका छैनन् । ‘सुगर र ब्लड प्रेसरले घरबाट बाहिर निस्कन सक्दिनँ,’ उनले भने, ‘पटकपटक बेहोस भएको छु ।’ पुसदेखि हाडजोर्नी दुख्ने समस्या देखिएको छ ।

उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै नेपालगन्ज र काठमाडौंसम्म पुगे पनि स्वास्थ्यमा सुधार नआएको मल्लकी श्रीमती गंगादेवीले बताइन् । ‘आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भयो,’ उनले भनिन्, ‘रकम नहुँदा महँगो अस्पतालमा लगेर उपचार गराउन सकिएन ।’ आमासहित ६ जनाको परिवारको पालनपोषण गर्ने मल्ल आफैं बिरामी परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताइन् । आर्थिक समस्याकै कारण दुई छोरी र एक छोराको पठनपाठनमा पनि कठिनाइ देखिएको छ ।

‘आफन्त र साथीभाइले सहयोग गरे औषधि किन्छु,’ मल्लले भने, ‘कहिलेकाहीं औषधि किन्न नसक्दा घरेलु उपचारको भर पर्नुपरेको छ ।’ नेपाल पत्रकार महासंघ मुगुका पूर्वअध्यक्षसमेत रहेका उनी नागरिक दैनिक, रारा रैबार अनलाइन र रेडियो मुगुमा समेत आबद्ध थिए । ‘कलम नसमातेको पनि दुई वर्ष भयो,’ उनले भने, ‘दिमागले काम गर्नै छोडेपछि नाटक लेख्न पनि छोडें ।’ लेखनमार्फत कर्णालीको पीडा उजागर गर्ने मल्लको जीवन रक्षाका लागि सहयोग गर्न महासंघका संस्थापक अध्यक्ष विनोद मल्लले आग्रह गरे ।

कान्तिपुर दैनिकबाट………

प्रतिकृया दिनुहोस्