RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/४ गते
४९१ पटक

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्य आवश्यक भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपतिले भन्नुभयो, ‘‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । दलका नेतृत्वले सधैँं उच्च राजनीतिक संस्कार कायम गर्दै आउनुभएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।’’

राष्ट्रपति भण्डारीको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँगको मङ्गलबार भएको सर्वदलीय बैठकमा उहाँले यस्तो विचार राख्नुभएको हो । बैठकमा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदान–प्रदान भएको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतोसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

शीर्ष नेताहरूलाई कार्यक्रममा स्वागत गर्दै राष्ट्रपति भण्डारीले हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको चर्चा गर्नुभयो । नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका लागि सबै दलका नेताप्रति राष्ट्रपतिले धन्यवाद

प्रकट गर्नुभयो ।
राष्ट्रपतिले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका बारेमा चर्चा गर्नुभयो । उहाँले यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तनजस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई राष्ट्रपतिले आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिले मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नुभयो, ‘‘राष्ट्रपतिले देशको समसामयिक विषयमा राजनीतिक दलहरू मिलेर अगाडि बढ्नू भन्नुभयोे, उहाँको चिन्ता भनेको नै दलहरू मिलेर अगाडि बढून् भन्ने हो । सबैलाई एक ठाउँमा ल्याएर दलका नेताहरूलाई उत्प्रेरित गर्ने राम्रो काम गर्नुभयो ।’’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले शिक्षा, जलवायु परिवर्तन तथा बङ्गलादेश भ्रमणको सन्दर्भमा परामर्श गर्न बोलाउनुभएको थियो, हामीले यस्तो परामर्श प्रतिनिधि सभा विघटन गर्नुअघि पनि गर्नुभएको भए राम्रो हुन्थ्यो भन्ने कुरा राख्याँैं ।

नयाँ राजनीतिक परिस्थितिबारे पनि छलफल भयो कि भन्ने एक जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री अहिले फेरि नयाँ जनादेशको कुरा गर्दै हुनुहुन्छ, त्यो नयाँ जनादेश भनेको के हो ? अदालतले फैसला गरिसक्यो, संसद् चलाउनुप¥यो, नयाँ जनादेशपछि पनि यस्तो हुँदैन भनेर कसले भन्ने ? हामीले प्रधानमन्त्री संसद् र नेताको पनि नेता भएकाले समाधान त्यहाँ खोज्नुपर्ने भनाइ राखेका छौँ ।’’

तर एमाले उपनेता नेम्वाङले भने प्रधानमन्त्रीले यहाँ नयाँ जनादेशको कुरा गर्न खोजेको पनि होइन, राष्ट्रपतिको त्यो कुरा गर्नु पनि भएन, त्यसैले हामी त्यतापट्टि गएनौंँ भन्नुभयो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले शिक्षा, वातावरण र बङ्गलादेशको भ्रमणका विषयमा राष्ट्रपतिले आफ्नो भनाइ राख्नुभएको बताउनुभयो ।

बैठकमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतका नेताको उपस्थिति थियो

गोखापत्र दैनिकबाट…………

प्रतिकृया दिनुहोस्