RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४५९ पटक

काठमाडौंँ, चैत ५ गते । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिनुुभयो । तीन महिनापछि पहिलो चरणमा खोप लगाएकाले दोस्रो पटकको खोप पाउन लागेका हुन् । सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रोपटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सोअनुरूप गरिएको हो । उहाँले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा दिने विषयमा निर्णय नभएको जानकारी दिनुुभयो । सरकारले खोप अभियान सुुरु गरेको पहिलो प्राथमिकतामा चार लाख २९ हजारले खोप लगाएका थिए ।
हालसम्म खोप १६ लाख पाँच हजार ७०६ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि सञ्चालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित खोप वा बाध्यात्मक अवस्थाका कारण सञ्चालन गर्न ढिलाइ भएका जिल्ला र स्वास्थ्य संस्थाहरूमा सम्बन्धित समन्वय तथा अनुगमन समितिको निर्णयका आधारमा बाँकी खोप अभियान सञ्चालन गर्ने बताएको छ ।
खोप शाखा प्रमुख डा. झलक गौतमले दोस्रो चरणमा ११ लाख ५६ हजार १५६ जनाले खोप लगाएको जानकारी गराउनुुभयो । दोस्रो चरणमा उत्साहका साथ ६५ वर्षमाथिका व्यक्तिले खोप लगाएको जानकारी पनि उहाँले दिनुुभयो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतबाट अनुदान स्वरूप उपलब्ध भएको पहिलो चरणमा आएको खोपको मौज्दात विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिएको हो । सहप्रवक्ता अधिकारीले स्वास्थ्य संस्थाहरूमा पठाइएको खोप तथा खोप भण्डारण केन्द्रमा रहेको खोप सुुरक्षित राख्न निर्देशन पनि दिएको बताउनुभयो ।

थप ९४ जना सङ्क्रमित
नेपालमा बुुधबार थप ९४ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुुई लाख ७५ हजार ५१८ पुगेको छ । त्यसैगरी कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३ जना सङ्क्रमित थपिएका छन् । बुुधबार देशभर थप ५५ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९, भक्तपुरमा ११ र ललितपुरमा १३ गरी उपत्यकामा ५३ जना थपिएका हुुन् ।

गोरखापत्र दैनिकबाट…….

प्रतिकृया दिनुहोस्