RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४४१ पटक

काठमाडौं, सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने नेपाली सेनाले सो सफाइको जिम्मा पिक प्रमोसन ट्रेकिङ एजेन्सीका प्रवन्ध निर्देशक बाबु शेर्पाले बताउनुभयो ।

सरकारले यस वर्ष ६९ जना माउन्टेन गाइडको सहयोगबाट छ वटा हिमालको फोहोर संकलन गर्ने भएको छ । आउने बैसाख र जेठको आरोहण सिजनमा पारेर नेपाली सेनाले सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, आमादव्लम र धौलागिरी हिमालबाट ३५ टन फोहोर संकलन गर्ने जनाएको छ ।

आधारशिविरदेखि अन्तिम क्याम्पसम्म १८ र आधारशिविर क्षेत्र १७ टन फोहोर संकलन गरी ल्याउने तयारी गरेको नेपाली सेनाका फोहोर संकलन सम्पर्क व्यक्ति मेजर अदिति कार्कीले बताउनुभयो । अन्तिम क्याम्पसम्म पुगेर फोहोर संकलन गरिने यो पहिलो कार्य भएको उहाँ बताउनुभयो । फोहोर संकलनसँगै भेटिएका शवहरु आधारशिविर ल्याएर व्यवस्थापन गर्ने समेत योजना रहेको उहाँले बताउनुभयो ।

कुल ६९ जना माउन्टेन गाइडसँगै ४३ जना सैनिकले बैशाख र जेठ महिना भरमा छ वटै हिमालबाट फोहोर संकलनगर्ने जनाएको छ । छ हजार मिटर भन्दा माथि आरोहण गरेका सैनिकले सफाइ अभियानमा खटिने सेनाले जनाएको छ । चिकित्सक सहित मेडिकल समुह र सञ्चार समुह समेत रहने छन् ।

पछिल्लो समय हिमालमा फोहोरको डङगुर बढेको गुनासो बढे पछि वन तथा वातावरण मन्त्रालयले यस वर्ष १० करोड रुपियाँ बजेट विनियोजन गरी फोहोर संकलन गर्ने भएको हो ।मन्त्रालयले सो बजेट व्यवस्थापन र खर्च गर्न नेपाली सेनालाई जिम्मा दिएको छ ।

सेनाले सफाइ अभियानमा खटिने ४३ जना सैनिकलाई जोमसोम र निलगिरी आधारशिविरमा तालिम दिन शुरु गरेको जनाएको छ । सेनाले सरकारबाट प्राप्त १० करोडमा थप दुई करोड ५० लाख रकम अपुग हुने भन्दै थप अन्य संघसंस्थासँग रकम सहयोग गर्न माग गरेको छ ।
सेनाले भने फोहोर संकलन र व्यवस्थापनमा गाइड, आधारशिविर व्यवस्थापनमा आरोहणदलको व्यवस्थापनका लागि टेण्डरबाट पिक प्रमोसन ट्रेकिङ एजेन्सीलाई छनौट गरी काम अघि बढाइ सकेको जनाएको छ ।

पिक प्रमोसन प्रालिका प्रवन्धक निर्देशक बाबु शेर्पाका अनुसार फोहोर संकलनका लागि ६९ जना शेर्पा गाइडको व्यवस्थापन गरिसकेको बताउनुभयो । छ वटा हिमालको अन्तिम क्याम्पसम्म पुगेर फोहोर संकलन गर्ने र शव भेटिएमा चुचुरो नजिक सम्म पुग्ने शेर्पाले जानकारी दिनुभयो ।

यसको समग्र अनुगमन सेनाले गर्ने छ । पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ र सेनाले दुई वर्ष अघि पनि सगरमाथा आधारशिविर क्षेत्रबाट फोहोर संकलन गरेका थिए । आरोहण शुरु भए यता हिमाल सफाइ हुन सकेको थिएन । सरकारले यस वर्ष पहिलो पटक सगरमाथा लगायतका हिमाल सफाइमा जुटेको छ । आरोहीको चाप बढी हुने सगरमाथा, मनास्लु हिमालमा बढी फोहोर रहेको आरोहीहरुले जनाएको छ ।

गोरखापत्र दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्