RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४८१ पटक

रोल्पा-विकट जिल्लाको रूपमा चिनिने रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ ले विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराएको छ ।
सरकारले ५ एम्पियरको बिजुली लिएका १० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्नलाई निःशुल्क घोषणा गरेकोमा निःशुल्क ऊर्जा दिएर डिमाण्ड चार्ज भने लिइरहेको छ । तर, सुनिल स्मृति गाउँपालिका–४ ले वास्तविक रूपमै २० युनिटभन्दा कम बिजुली उपयोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली दिएको हो ।

स्थानीय सरकारले सडक, पुल तथा भवनजस्ता भौतिक विकासमा सहयोग दिइरहेको बेला सुनिल स्मृति गाउँपालिकाले भने गरिबमुखी कार्यक्रम पनि सञ्चालन गरेर देखाएको छ । विपन्न गरिबलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम गरेपछि यस गाउँपालिकाको वडा नं ४ विपन्नमैत्री वडाको रूपमा चिनिन थालेको छ ।

विपन्न जनतालाई लक्षित गरी वडाले अघि बढाएको निःशुल्क उज्यालो कार्यक्रमअन्तर्गत सो वडाले विपन्न गरिबको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणमा भुक्तानी गर्ने गरेको छ । ८ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७ सय ५९ मध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ५ सय २७ घरधुरीका लागि विद्युत् महसुल तिरिदिने कार्यक्रम अघि सारेको वडाध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिए ।

“वडाबाट निःशुल्क विद्युत् कार्यक्रमअन्तर्गत उनीहरूका लागि यस्तो कार्यक्रम अघि सारेका हौँ ,” क्षेत्रीले भने, “गत साउनदेखि माघ महिनासम्मको शुल्क १ लाख ३३ हजार ३३१ रुपैयाँ विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेका छौं ।”

उक्त शीर्षकअन्तर्गत वडाले चालू आवका लागि ५ लाख ५० हजार विनियोजन गरेको छ । न्यूनतम महसुल प्रतिघरधुरी मासिक ९० रुपैयाँ हुने गर्दछ । संघीय सरकारले समेत १० युनिटसम्म निःशुल्क गरेको हुँदा वडाले बाँकी युनिटको रकम नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।

वडा कार्यालयले आफ्नो बिजुलीको बिल तिर्न थालेपछि यहाँका विपन्न परिवार खुसी छन् । “वडाभित्र बसोबास गर्ने ५ सय २७ घर गरिबको विद्युत् महसुल वडाले तिरिदिने कुराले हामी खुसी छांै,” सुनिल स्मृति गाउँपालिका–४ छिर्नेका खम्बबहादुर बुढामगरले भने, “घरको आर्थिक अवस्था कमजोर भएका कारण महसुल भुक्तानी गर्न समस्या परिरहेको थियो अब भने केही सहज हुने आशा जगाएको छ ।”

कारोबार दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्