RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४५६ पटक

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी र पार्टीमा समर्पित व्यक्तिलाई चिन्ने तर गुट र झुण्डलाई नचिन्ने बताएका छन् । पद र शक्तिका लागि गुट र झुण्ड बनाएर बार्गेनिङमा आउने समूहलाई आफूले नचिन्ने उनले बताए ।

बुधबार एक अन्तर्वातामा प्रधानमन्त्री ओलीले आफू पार्टीलाई एकढिक्का बनाएर लैजान अगाडि बढेको अवस्थामा आफूखुसी भेलाहरु आयोजना गरेर केही व्यक्तिहरुले एमाले भनेर एमालेका विरुद्ध गतिविधि गरिरहेको बताए । त्यस्ता गतिविधि क्षम्य नहुने उनले बताए ।

पार्टीमा रहेको विवादका विषयमा ओलीले भने, ‘मेरो अभिभावकीय भूमिका हो, त्यो मैले बुझेको छु । विभिन्न गलत बाटोमा गएकाहरुलाई सम्झाएर बुझाउनुपर्छ । कोही कार्यकर्ता अलमलमा छ भने त्यसबाट मुक्त गर्ने मेरो जिम्मेवारी हो ।’

ओलीले थपे, ‘तर, गुटसँग म डिल गर्दिनँ, गुटलाई मान्यता छैन । पार्टीका कार्यकर्ता आफ्ना आफ्ना ठाउँमा बसेर आफ्ना आफ्ना काम गर्नुपर्छ । पहिलो पटक भएकाले मैले ल ठीक छ भनेँ ।’

पार्टीमा आफू एकतावद्ध बनाउन प्रयासरत रहेको अवस्थामा केही व्यक्तिले गुटगत अग्रसरता देखाएको बताए । ओलीले भने, ‘म गुटलाई मान्यता दिन्नँ । व्यक्तिलाई मान्यता दिने हो । मैले उहाँहरुलाई पनि व्यक्तिकै रुपमा मान्यता दिएको हुँ, गुटको हैन ।’

आफ्नो पार्टी र नेतृत्व विरुद्ध मोर्चाबन्दी गर्नु पार्टी अनुशासन विरुद्ध भएको ओलीको भनाइ छ । खनाल-नेपाल समूहलाई ओलीको प्रश्न छ, ‘राष्ट्रिय भेला भनेर बकवास गर्न पाइन्छ ? राष्ट्रिय भेला भनेर पार्टीका अध्यक्ष, पार्टीबाट निर्वाचित प्रधानमन्त्रीका विरुद्ध बकवास गर्न पाइन्छ ?’

प्रतिकृया दिनुहोस्