RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
५०६ पटक

काठमाडौं,  परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको दुइदिने बंगलादेश भ्रमणको तालिका सार्वजनिक गरेको छ । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा राष्ट्रपति भण्डारी यही चैत ९ गते ढाका प्रस्थान गर्दै हुनुहुन्छ ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बंगलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागि हुनुहुनेछ । उक्त अवसरमा भण्डारीले नेपाल र बंगलादेशको द्धिपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुनेछ । भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ । राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागि छ जसले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।

राष्ट्रपति भण्डारी ढाकास्थित नेपाली दुतावासमा आयोजना हुने रात्रीभोज पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी चैत १० गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिकृया दिनुहोस्