RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/६ गते
५९३ पटक

दाङ: राजपुर गाउँपालिकाका–६ का वडाध्यक्ष पहिलो चरणको कोरोनाविरुद्धको खोपमा सहभागी भएनन् । कोरोना खोपको विषयमा जनस्तरमा आएका कुराले उनी कोरोना खोप लगाउन पन्छिएका हुन् । ‘खोप लगाउँदा असरहरु देखिन्छ, शारीरिक समस्या हुन्छ भन्ने सुनेर मैले अहिले खोप लगाइन’, उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाका ५ जना वडाध्यक्षसहित जनप्रतिनिधिहरुले पनि कोरोना विरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियानमा सहभागिता जनाएनन् । तुलसीपुर–४ का अध्यक्ष बालकृष्ण रानाले पहिलो चरणमा कोरोनाविरुद्धको खोप नलगाएको बताए ।

‘खोपप्रतिको अविश्वासका साथै कामको चापले पहिले खोप लगाउन पाइएन’, उनले भने, ‘अव चाहिँ लगाउने सोच बनाएको छु ।’ तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकालले पहिलो चरणमा नलगाए पनि अवको चरणमा भने खोप लगाउने बताए । उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाले पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधिहरु खोप लगाउन आलटाल गरेको कोरोना फोकल पर्सन विमल केसीले बताए ।

शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह पनि कोरोना खोप अभियानमा सहभागी भइनन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरु खोप अभियानमा सहभागी भए पनि उपाध्यक्षसहित केही जनप्रतिनिधि खोप अभियानमा सहभागी भएनन् ।

कोरोनाविरुद्धको खोप लगाउने प्राथामिकतामा परेका जनप्रतिनिधिहरु आफैँ त्यस किसिमको अभियानबाट हच्किचाएका छन् । स्वास्थ्यकर्मीपछिको प्राथामिकतामा परेका स्थानीय तहका जनप्रतिनिधिहरु कोरोना खोप लगाउनबाट पछि हटेका हुन् । उनीहरु कोरोनाविरुद्धको खोप लगाउन अनिच्छुक देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङका १० वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिहिरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहीले बताए ।
जिल्लाका करीब ६० प्रतिशत जनप्रतिनिधिहरु विभिन्न बहाना बनाउँदै खोप लगाउने कार्यबाट पन्छिएका छन् । शाहीका अनुसार दाङमा ५ सय ८० जना स्थानीय जनप्रतिनिधि रहेकोमा दुई सय ४५ जनाले मात्र खोप लगाएका छन् ।

‘३ सय ३५ जना जनप्रतिनिधि खोप लगाउन नै आएनन्’, शाहीले भने,  ‘कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा छ । यो हिसाबले जिल्लामा खोप अभियान राम्रै मान्न सकिन्छ । तर, जनप्रतिनिधिहरुको सहभागिता चाहिँ कम रहेको छ ।’ शाहीका अनुसार खोप नलगाउने जनप्रतिनिधिका हिसावले लुम्बिनी प्रदेशमा दाङ १२ औँ स्थानमा छ ।

कोरोनाविरुद्धको खोप अभियानमा जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरु नै सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजाने शाहीको तर्क छ । लुम्बिनी प्रदेशमा ३ हजार २० जना जनप्रतिनिधिले कोरोना विरुद्धको खोप लगाएका छन् ।

लुम्बिनी प्रदेशका १ सय नौ स्थानीय तहमा ५ हजार ४ सय ४४ जना जनप्रतिनिधि रहेका छन् जसमा ३ हजार २० जनाले मात्रै खोप लगाएका छन् । प्रदेशमा अहिलेसम्म खोप लगाएकामध्येमा कुल सख्याको ७ दशमलव २ प्रतिशत जनप्रतिनिधि रहेका छन् भने ९२ दशमलव ८ प्रतिशत चाहिँ अन्य लक्षित वर्ग र समुहका रहेका छन् ।

प्रादेशीक अस्पताल तुलसीपुरका बरिष्ठ फिजिसियन डा सर्वेश शर्माले कोरोना खोपमा कोहि पनि डराउनुपर्ने अवस्था नरहेको र ढुक्कसँग लगाउन सकिने बताए । उनले सचेतना र परामर्श कम हुँदा जनप्रतिनिधिमा खोपप्रति अविश्वास हुनसक्ने भन्दै पालिकास्तरबाटै सचेतना बढाउनुपर्नेमा जोड दिए ।

खोप लगाउन हतारो

तुलसीपुरका चन्द्रा थापाले पहिलो चरणको खोप लगाएको फोटो फेसबुकमा सार्वजनिक गरिन् । उनी स्वास्थ्यकर्मी नभएर व्यवसायी हुन् । कोरोना खोपमा व्यवसायीहरुको चरण सुरु भएको छैन । तर, थापाले पहुँचको भरमा पहिलो चरणमै कोरोना खोप लगाउन सफल भइन् । उनी जस्तै अन्य ५ जनाले पनि लक्षित वर्ग नभइ पहुँचको आधारमा पहिलो चरणको कोरोना खोप लगाएका छन् ।

निजी स्वास्थ्य संस्थाहरुले पहुँचका आधारमा गैरस्वास्थ्यकर्मीहरुलाई समेत खोप लगाइदिएको तथ्य खुलेको छ । तुलसीपुरमा रहेका निजी अस्पतालहरुले अस्पतालका अध्यक्ष, निर्देशक र  उनीहरुका परिवारका सदस्य समेतलाई खोप लगाएको तथ्य खुलेको हो । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले झुक्याएर बाहिरका केहि व्यक्तिहरुले खोप लगाएको हुनसक्ने बताए । उनले खोपमा नियमन गर्दागर्दै पनि निजी अस्पतालले बदमासी गरेकाले गैरस्वास्थ्यकर्मीसम्म पहिलो चरणमै खोप पुगेको स्वीकार गरे । ‘खोप लगाउने पालो सबैको आउँछ तर यहाँ अलि बढी हतार गरेको देखियो’, केसीले भने ।

७१ हजार ४ सयलाई खोप

लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको पहिलो र दोस्रो चरणको खोप ७१ हजार चार सय ७१ जनाले लगाएका छन् । विभिन्न क्षेत्रबाट सहभागी गराएर लक्ष्यअनुसार कोरोना खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालय कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए ।

पहिलो चरणमा प्रदेशका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, महिला स्वास्थ्यकर्मी, पत्रकार लगायतका अग्रपंक्तिमा रहेर काम गर्ने २८ हजार ९ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणमा ४२ हजार पाँच सय २० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये बैँक तथा वित्तिय संस्थामा आवद्धहरु १७.४ प्रतिशत रहेका छन् । यो सख्या सबैभन्दा बढी हो । यसैगरी खोप अभियानमा १७ प्रतिशत निजामती कर्मचारी, १५.७ प्रतिशत जनपथ प्रहरी, १४.४ प्रतिशत स्थानीय तहका कर्मचारी, ८ प्रतिशत सीमाक्षेत्रमा खटिने शसस्त्र प्रहरीले खोप लगाएका छन् ।

जनप्रतिनिधि ७.२ प्रतिशत, प्राधिकरण र संस्थानका कर्मचारी ६.१ प्रतिशत, पत्रकार ३ प्रतिशत, शव व्यबस्थापनमा खटिने सुरक्षाकर्मी १.८ प्रतिशत  र न्याय सेवा समुहका १.७ प्रतिशतको सहभागिता देखिएको छ ।

पहिलो र दोस्रो चरणको खोप अभियान अन्र्तगत दाङका स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि, निजामती कर्मचारी, प्रहरी, सरसफाइकर्मी लगायतका विभिन्न व्यक्तिहरु गरी जम्मा सात हजार ८ सय ७९ जनाले खोप लगाएका छन् । जसमध्ये पहिलो चरणमा तीन हजार पाँच सय ४६ जना र दोस्रो चरणमा चार हजार तीन सय ३३ जना खोप अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी रुपन्देहीमा पहिलो चरणमा छ हजार सात सय ९१ जना र दोस्रो चरणमा सात हजार पाँच सय ६ जना गरी जम्मा १४ हजार दुई सय ९७ जनाले कोरोना विरुद्धको खोप लगाएको तथ्याङक छ ।

यस्तै, कपिलवस्तुमा पहिलो चरणमा दुई हजार दुई सय २६ र दोस्रो चरणमा छ हजार एक सय ५४ जना, बाँकेमा पहिलो चरणमा चार हजार नौ सय ६७ र दोस्रो चरणमा चार हजार आठ सय ६६ जना, बर्दियामा पहिलो चरणमा एक हजार नौ सय ३१ र दोस्रो चरणमा चार हजार सात सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

अन्नपुर्ण पोष्ट दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्