RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/७ गते
५०० पटक

वैदेशिक रोजगारका क्रममा संस्थागत भन्दा व्यक्तिगत ठगीका उजुरी ४ गुणा बढेको पाइएको छ ।वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति लिएका मेनपावर कम्पनी तुलनामा व्यक्तिगत ठगी आरोपको उजुरी संख्या समेत दोब्बर रहेको पाइएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा संस्थागत ठगीका उजुरी १५० भन्दा बढी हुँदा व्यक्तिगतत ठगीको उजरी २७१ भन्दा बढी रहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको फागुनसम्म विदेश पठाइदिने वहानामा अनाधिकृत व्यक्तिले २३ करोड २० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

यही अवधीमा संस्थागत रुपमा लगभग ६ करोड रुपैयाँ बराबरको उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ ।
यो अवधीमा २७१ उजुरी परेको देखिएपनि ७५ वटा उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । युवाले दाबी रकमसहित मुद्दा दायर गरेका मध्ये १२ करोड रुपैयाँ दाबी विगो अदालतमा पेश गरिएको छ ।

मेनपावर कम्पनी विरुद्ध भने चालु आर्थिक वषको ८ महिनामा विदेश पठाउने भन्दै २०० भन्दा बढी युवाको उजुरीबाट ६ करोड रुपैयाँ ठगीको उजुरी परेको पाइएको छ । कोरोना संकटका कारण रोजगारीमा आएको संकुचनले ठगीका घटना बढेका छन् ।

वैदेशिक रोजगारीमा जाने क्रम रोकिएपछि बेरोजगार बनेका युवामा जसरी पनि विदेश जाने मोहले ठगीको घटना बढेको हो । वैदेशिक रोजार विभागका महानिर्देशक व्यक्तिगत ठगी कम गर्न विदेश जाने युवा नै सचेत हुनु पर्ने सुझाब दिन्छन् । विभागले विगत ६ महिनायता संस्थागत रुपमा आएका उजुरीका आधारमा १ सय भन्दा बढी मेनपावरमा अनुगमन गरेको थियो ।

चालु आवको पुससम्म विभागले विभिन्न मेनपावर कम्पनीलाई लगभग ५० लाख रुपैयाँ जरिमाना भराएको छ । विभागमा संस्थागत रुपमा परेको उजुरीमा दोषी देखिए विभागले जाहेरी फरफाराक बाहेक मेनपावरलाई जरिमाना समेत भराउने गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले तोकिएको भन्दा बढी शुल्क लिएको, अवैध अन्तवार्ता सञ्चालन गरेको लगायतका विषयमा धेरै उजुरी गर्ने गरेको विभागका निर्देशक दाहालले जानकारी दिए । उनले विगत वर्षको भन्दा उजुरी कम भएपनि वैदेशिक रोजगारीमा जाने क्रम सुस्त भएका बेला ठगी भने बढेको बताए ।

उजुरी दिएर फर्केका युवाले सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको जनाउँदै रोजगारी छोडेर नेपाल फर्किएका घटना समेत बढदै गइरहेको पाइएको विभागले जनाएको छ । सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको, सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ ।

लकडाउनका कारण वैदेशिक रोजगारीमा जाने प्रक्रिया रोकिएर आवतजावत समेत नभएको साउन, भदौ र असोजमा समेत विभागका ५० युवाका ४३ वटा उजुरी दर्ता भएको थियो । साउन, भदौ र असोजमा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँ बराबरको ठगी आरोपका उजुरी परेको थियो ।

चालु आर्थिक वर्षको लकडाउनपछि विभागले १०० भन्दा बढी मेनपावर र विभिन्न परामर्शदाता संस्थामा अनुगमन गरेको थियो । विभागले ठगिको आरोमा उजुरी परेकाबाहेक विभिन्न मेनपावर कम्पनीमा अवैध अन्र्तवार्ता, भिजिट भिसाको प्रक्रिया, तोकिए भन्दा बढी पैसा लिएको विषयमा अनुगमन गरी कारवाई प्रक्रिया अघि बढाएको छ । कोरोनाका कारण मंसिर र पुसबाट सुरु गरिएको अनुगमनमा १८ मेनपावरलाई आंशिक तथा पूर्ण कारोबार रोक्काको कारवाही गरेको थियो ।

कारोबार दैनिकबाट………..

प्रतिकृया दिनुहोस्