RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/८ गते
१५२५ पटक

काठमाडाैँ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।

मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२: ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले बताए । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ ।

यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ ।

उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ। मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए ।

केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ । प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ ।

ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्