RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/९ गते
५२४ पटक

काठमाडौं, दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडानको काम सुरु भएको छ ।

सुरुको डिजाइन अनुसार एक्सपान्सन ज्वाइन्ट बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सपान्सन ज्वाइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोधन गरिएको थियो ।

हाल लट –२ अन्तर्गतकै आयोजनाको भैंसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो पेनस्टको कामहरू बाँकी रहेको र उक्त कार्यक्षेत्रमा काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्यहरुको निर्माण सम्पन्न भइसकेको छ । भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमरलगायतका सबै उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ ।

लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा आईतवारदेखि पानी जम्मा गर्ने कार्य सुरु भएको छ । डिस्याण्डिङ बेसिनमा बालुवा थिग्राउँने कामको परीक्षणका लागि पानी जम्मा गर्न लागेको हो । यो परिक्षण एक हप्तासम्म चल्ने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । एक्सपान्सन ज्वाइन्ट पाईप जडानसहित हाल भइरहेको सम्पुर्ण काम चैत भरिमा सम्पन्न गरि सुरुङमा पानी पठाउने काम सुरु हुने आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो ।

बैशाखमा आयोजनाको ६ मध्ये एक युनिट सञ्चालन गरी ७६ मेघावाट बिद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाले राखेको छ । आठ सय २२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुख्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्