RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१० गते
६२९ पटक

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्नुहुँदै भन्नुभयो, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।”
दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औँल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापार अवरोधको उन्मूलन, पूर्वाधार विकास र सहज बजार पहुँचले व्यापारमा उल्लेख्य वृद्धि गर्न सक्छ ।” उहाँले सहयोग आदानप्रदानको अर्को महŒवपूर्ण ऊर्जा क्षेत्र रहेकाले त्यसमा थप सहकार्यको आवश्यकतामा जोड दिनुभयो । नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यासले दुवै देशको विकासको आवश्यकतालाई टेवा पु¥याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो । त्यसका लागि नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय सहयोग सुदृढ तुल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले सम्पर्क सञ्जालको विस्तारका लागि विद्यमान काठमाडौँ–ढाका उडान थप गर्ने, बङ्गलादेशको सैयदपुर र नेपालको विराटनगर जस्ता प्रमुख क्षेत्रीय सहरलाई उडानले जोड्न सकिने सम्भावना उल्लेख गर्नुभयो । त्यस्तै उहाँका अनुसार नेपाल, भारत र बङ्लादेशको नदीमा जलमार्गको विस्तार गर्न सकिनेछ । सडकमार्ग स्तरोन्नति, रेल्वेको विकासले पनि सम्पर्क सञ्जालमा बल पु¥याउनेछ ।
रोहनपुर सिंहबाद रेल्वे रुटलाई ‘पोर्ट अफ कल’का रूपमा समावेश गर्ने प्रक्रिया अगाडि बढेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्नुभयो । उहाँले मानव संसाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले यी बहुमूल्य स्रोतको उपयोग गरी जनताको समृद्धि र खुसीमा रूपान्तरण गर्नुपर्ने सुझाउनुभयो । आपसी सहयोग र समर्थनका माध्यमबाट बहुपक्षीय मञ्चमा साझा चासोका विषय प्रवद्र्धन गर्ने साझेदारीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पर्यटनमा साझेदारीलाई जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “बङ्गलादेशी पर्यटकले हिउँले ढाकेका पहाड, हरिया उपत्यका, समृद्ध जैविक विविधता, ऐतिहासिक पुराताŒिवक र सांस्कृतिक स्थलहरूको भ्रमण गर्न सक्छन् । नेपाली पर्यटकले सुन्दर समुद्री तट र सांस्कृतिक स्थलको भ्रमण गर्न सक्छन् ।” जलवायु सङ्कटमा नेपाल र बङ्गलादेश दुवै रहेकाले मौसमी विपत्तिको सम्बोधन गर्न द्विपक्षीय सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।
मङ्गलबार राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीद्वारा प्रशंसा
राष्ट्रपति भण्डारीसँग सोमबारै बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री वाजेद विश्वकै एक प्रेरणादायक नेता भएको भन्दै प्रशंसा गर्नुभयो ।
भेटपछि प्रधानमन्त्रीका प्रेस सचिव इहसानुल करिमले पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार राष्ट्रिय विकासको कार्यमा महिला सहभागिताका लागि बङ्गलादेश ‘रोल मोडल’ हुनसक्ने राष्ट्रपति भण्डारीले औँल्याउनुभयो । दुईपक्षीय सहयोगबारे नेपालले अर्थपूर्ण सहयोग चाहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । नेपाललाई बङ्गलादेशको बन्दरगाह र सैयदपुर विमानस्थल प्रयोग गर्न दिएकोमा उहाँले सराहना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले बिम्स्टेक सदस्यराष्ट्रबीच सम्पर्क बढाउनुपर्नेमा जोड दिनुहुँदै

प्राकृतिक प्रकोपको सवालमा सहयोग आदानप्रदान गर्न सकिने सुझाउनुभयो ।
उहाँले नेपालीमा अनुवाद भएको ‘अधुरो स्मरणहरू’ र ‘बङ्गबन्धुको जेल डायरी’ गरी दुई पुस्तक प्रधानमन्त्री वाजेदलाई प्रदान गर्नुभयो । प्रधानमन्त्री वाजेदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका समयमा नेपालले गरेको सहयोगको स्मरण गर्दै धन्यवाद प्रकट गर्नुभयो । चटगाउँ र मोङ्ला बन्दरगाहसहित मुख्य विमानस्थल प्रयोगका लागि खुला रहेको जानकारी उहाँले दिनुभयो । साथै व्यापार वाणिज्यको क्षेत्रमा आपसी सहयोग र दुई देशबीच सम्भावित व्यापार सम्झौतामा हस्ताक्षर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वाजेदले भन्नुभयो, “पीटीए भए दुवै देशलाई फाइदा हुन्छ । ” नेपाल, बङ्गलादेश र भारतको संयुक्त सहकार्यमा नेपालको जलस्रोतको
उपयोग गरी जलविद्युत् केन्द्र स्थापना गर्न सकिने उहाँले औँल्याउनुभयो ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनलगायत दुवै देशका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । त्यस्तै राष्ट्रपति भण्डारीसमक्ष विदेशमन्त्री मोमेनले पछि छुट्टै शिष्टाचार भेट गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपतिका तर्फबाट आयोजित रात्रिभोजमा पनि राष्ट्रपति भण्डारीले सहभागिता जनाउनुभयो ।

राष्ट्रपति भण्डारीको स्वागत
यसअघि ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गर्नुभएको थियो । उहाँलाई राजकीय सम्मानस्वरूप २१ तोपको सलामीसहित सम्मानगारद प्रदान गरियो । त्यसपछि शहीद स्मृति पार्क पुगेर दुवै देशका राष्ट्रपतिले शहीदहरूप्रति श्रद्धासुमन प्रकट गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी बङ्गलादेशी समकक्षी हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान बङ्गलादेश प्रस्थान गर्नुभएको हो । उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका उच्च पदाधिकारीले हार्दिक बिदाइ गर्नुभएको थियो ।

गोरखापत्र दैनिकबाट……………

प्रतिकृया दिनुहोस्