RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/११ गते
४५६ पटक

मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज बनाउन थालेको छ । पाँच वर्षअघि संघीय सरकारले सुरु गरेको पक्की पुल नबनेपछि छायानाथ–रारा नगरपालिकाले बेलिब्रिज बनाउन थालेको हो ।

ठेकेदारको बदमासीका कारण लामो समयसम्म पक्की पुल बन्न नसक्दा पुलबाटै कर्णाली वारपार गर्ने स्थानीयको चाहना लामो समयदेखि पूरा हुन सकेको छैन । छायानाथ–रारा नगरपालिकाले आगामी असारभित्रै सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण थालेको छ । नगरपालिकालको आर्थिक लगानी रहने बेलिब्रिज बनाउन ग्रामीण पहुँच कार्यक्रम (र्‍याप ३)ले प्राविधिक सहयोग गर्ने भएको छ ।

छायानाथ–रारा नगरपालिकाको वडा नम्बर ३ र १३ को संगमस्थान भएर बग्ने मुगु–कर्णाली नदीको भट्टेचौरमा अब बेलिब्रिज बन्नेछ । बेलिब्रिज बनाउने जिम्मा जलब रविचक्र जेभी निर्माण कम्पनीले पाएको छ । नगरपालिकासँग ठेक्का सम्झौता भइसकेको कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले जानकारी दिए ।

बेलिब्रिज बनेपछि नगरपालिकाका वडाबस्तीका साथै हुम्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमिकोट गाउँपालिकासम्मका जनतासम्म सडक पहुँच पुग्नेछ । पाँच करोड २० लाख ५५ हजार रुपैयाँ लागतमा बन्ने बेलिब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले जानकारी दिए ।

असारभित्रै बेलिब्रिज बन्ने
नगरप्र्रमुख हरिजंग शाहीले अघिल्लो बुधबार बेलिब्रिज र सडकबाट पुलसम्म पुग्ने सडक शिलान्यास गरे । त्यसक्रममा नगरप्रमुख हरिजंग शाहीले आगामी असारभित्रै बेलिब्रिज बनिसक्ने बताए । आठ वर्षअघि निर्माण थालिएको पक्की पुल अलपत्र परेपछि तत्काल स्थानीयको सहजताका लागि बेलिब्रिज बनाउने निर्णयमा पुगेका हौँ,’ नगरप्रमुख शाहीले भने, ‘यो बेलिब्रिज अर्को पुलजस्तो अलपत्र पर्दैन, निर्धारित समयमै सम्पन्न हुनेछ ।’

पाँच वर्षअघि निर्माण सम्झौता गरिएको पुल ठेकेदारको बदमासीका कारण अलपत्र बनेपछि पक्की पुलबाटै कर्णाली नदी वारपार गर्ने स्थानीयको चाहना अलपत्र परेको छ, त्यसैले स्थानीय सरकारले तत्कालका लागि बेलिब्रिज बनाउन सुरु गरेको छ ।
र्‍याप ३ ले नै मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म सडक निर्माण गरिसकेको छ । तर, कर्णाली नदीमा पुल नहुँदा बनिसकेको सडकसमेत सञ्चालन हुन सकेको छैन । विगतमा साबिकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । सो पुल नबनेपछि नागरिकको सहजताका लागि अस्थायी बेलिब्रिज राख्न गत वर्ष नगर सभाले बजेट विनियोजन गरेको नगरप्रमुख शाहीले बताए ।

पुल नबन्दा सडक प्रयोग भएन
ट्रयाक खुला भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पनि स्थानीयले सडकको प्रयोग गर्न पाएका छैनन् । यसको कारण पुल अभाव नै हो । पुल नबन्दा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापुथार्प र हुम्लाका तल्लो भेगका स्थानीयले सडक प्रयोग गर्न पाएका छैनन् । सडक छ, सवारीसाधन चल्दैनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा तीन घन्टा बोकेर जिल्ला अस्पताल मुगु पुर्‍याउनुपर्ने बाध्यता छ । पुल नहुँदा समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको छ । ‘पुल बने हामीले पनि समयमै उपचार सेवा लिन सक्ने थियौँ,’ स्थानीय बालकृष्ण लावडले भने, ‘घरबारीमा खेर गइरहेका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगन्जसम्म लगेर बिक्री गर्न सक्ने थियौँ ।’

र्‍याप ३ ले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामा सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा सडक सञ्चालन हुन सकेको छैन । ‘नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ,’ ग्रामीण पहुँच कार्यक्रमका टिम लिडर विष्णुराम विष्टले भने, ‘गमगढी–दर्के खोलासम्मको २६ किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको र आगामी तीन महिनाभित्र चंखेलीसम्मको सडक पनि हस्तान्तरण हुने विश्वास छ । अब छिट्टै देउलीसम्मको सडक पनि सम्पन्न हुनेछ ।’

ठेकेदारलाई पटक–पटकको ताकेता
सम्झौताअनुसार समयभित्रै पुल निर्माण गर्न स्थानीयले ठेकेदारलाई पटक–पटक आग्रह गरेका थिए । वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर रावतले तत्कालीन जिल्ला विकास समितिले पक्की पुल बनाउन सम्झौता गरेको, तर ठेकदारले समयमा काम नगर्दा पुल निर्माण हुन नसकेको बताए । ‘सम्झौताअनुसार पुल निर्माण सक्न पटकपटक अनुरोध गरे पनि कर्णालीपारिका जनताको माग ठेकेदारले सुनेनन्,’ वडाध्यक्ष रावतले भने, ‘यतिसम्मकी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि पुल निर्माणका लागि ठेकेदारलाई दबाब दिँदा पनि ठेकेदारले टेरेनन् ।’

संघीय सरकारमातहत रहेको यो पुल निर्माण गर्न कतैबाट पहल नभए पनि स्थानीय सरकारको नाताले छायानाथ–रारा नगरपालिका अघि सरेको हो । नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा ग्रामीण पहुँच कार्यक्रमको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा पुल बनाउने निर्णय भएको थियो ।

२४ महिनाभित्र निर्माण सक्ने गरी पाँच वर्षअघि ०७३ असारमा आशिष पृथ्वी जेभी र तत्कालीन जिल्ला विकास समितिबीच निर्माण सम्झौता भएको थियो । पुलको लागत नौ करोड भनिएको छ । पुल निर्माण सुरु हुनेबित्तिकै ठेकेदार कम्पनीले एक करोड ४५ लाख रुपैयाँ पेस्की लिइसकेको छ । आफूहरूले तीन करोडबराबरको सामान खरिद गरिसकेको, तर काम हुन नसक्दा नोक्सान भइरहेको कम्पनीले दाबी गरेको छ ।

पुलको डिजाइन इस्टिमेट नमिलेकाले निर्माण अघि बढ्न नसकेको दाबी पनि ठेकेदार कम्पनीले दाबी ठेकेदार कम्पनीले गरेको । पुनः डिजाइनका लागि प्रयास गरिएको भए पनि मुलुक संघीयतामा गएपछि जिल्ला विकास कार्यालय खारेज भएकाले पनि समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ ।

नयाँ पत्रिका दैनिकबाट……….

प्रतिकृया दिनुहोस्