RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/११ गते
४६२ पटक

ओखलढुंगा — सरस्वती मावि कुन्तादेवीमा दुई वर्षअघिसम्म महिनावारीका कारण छात्रा अनुपस्थित हुने दर ५० प्रतिशत थियो तर अहिले त्यस्तो दर अधिकतम पाँच प्रतिशतमात्रै छ । विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्रा अनुपस्थित हुने दरमा कमी आएको हो ।

‘महिनावारी भएकै कारण अनुपस्थित हुने दरलाई शून्यमै झारेका थियौं,’ मोलुङ गाउँपालिका १ स्थित विद्यालयका प्रधानाध्यापक लीलानाथ गिरीले भने, ‘परिस्थितिवश अनुपस्थित हुनेबाहेक यसले उपस्थिति दर र शैक्षिक सुधारमा निकै ठूलो भूमिका खेलेको छ ।’

यो विद्यालयमा सेनेटरी प्याडको व्यवस्था निःशुल्क रूपमा पहिलोपटक वडाध्यक्ष प्रदीप बानियाँले गराएका थिए । हाल सरकारले विद्यालयमा अनिवार्य सेनेटरी प्याड उपलब्ध गराएको छ । विद्यालयमा सेनेटेरी प्याड उपलब्ध भए पनि यसको व्यवस्थापन पक्ष कमजोर हुँदा अधिकांश विद्यालयमा प्रभावकारी हुन सकेको छैन तर सरस्वती माविले भने सेनेटरी प्याड लगाउने, फेर्ने छुट्टै कक्षको व्यवस्था गरेको छ ।

ग्रामीण महिला जागरण नामक संस्थाले जिल्लाका केही विद्यालयमा यही विषयमा सशक्तीकरणको काम गर्दै आएको छ ।

‘धेरै विद्यालयमा छात्राले प्याड माग्नै सक्दैनन् । त्यसका लागि विद्यालयकै छात्राको समूह बनाएर समूहको नेतृत्व गर्ने छात्रामार्फत् महिला शिक्षकका माध्यमबाट प्याड माग्ने व्यवस्था गरिनुपर्छ,’ संस्थाकी कार्यक्रम अधिकृत विमला धमलाले भनिन्, ‘प्याड प्रयोगमा किशोरीहरूको पहुँच बढाउन समूहको आवश्यकता हुने रहेछ ।’ कतिपय विद्यालयमा सेनेटरी प्याड भए पनि अझै छात्राहरू महिनावारीका बेला अनुपस्थित हुनुको कारण यसको पहुँच र व्यवस्थापन पक्ष रहेको धमलाले बताइन् । सबैभन्दा मुख्य समस्या प्याड फेर्ने कक्षको अभाव र प्रयोग भइसकेको प्याड फाल्ने ठाउँ रहेको उनको भनाइ छ ।

विद्यालयमा सेनेटरी प्याड नहुँदा घरबाटै झोलामा बोकेर ल्याउँदा छात्रले झोला खोलेर जिस्क्याउने गरेको अनुभव छात्रामा छ । ‘अहिले त धेरै सजिलो भएको छ । हामी आफैं पनि पहिलेभन्दा बुझ्ने भएका छौं,’ कुन्तादेवीस्थित सरस्वती माविकी छात्रा तथा किशोरी समूहकी अध्यक्ष अस्मिता कार्कीले भनिन्, ‘शिक्षक, अभिभावक, साथीभाइ सबैले सकारात्मक रूपमा लिनुहुन्छ अहिले ।’

सेनेटरी प्याडको व्यवस्था भए पनि अन्य व्यवस्था नभएको चिशंखुगढी गाउँपालिका ६ स्थित छात्र प्रगति मावि भदौरेका प्रधानाध्यापक शंकरप्रसाद कोइरालाले स्विकारे । सरसफाइका लागि पानीको अभाव भएका कारण शौचालयमा पनि प्याड फेर्न र व्यवस्थापन गर्न सम्भव नभएको उनले बताए । भदौरेको विद्यालय मात्र नभएर जिल्लाका ९५ प्रतिशतभन्दा बढी विद्यालयले सेनेटरी प्याड मात्र उपलब्ध गराएको तर व्यवस्थापनमा ध्यान नदिएको सरोकारवालाको भनाइ छ ।

कान्तिपुर दैनिकबाट…………

प्रतिकृया दिनुहोस्