RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/११ गते
४९० पटक

काठमाडौंँ,  कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।

लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०÷५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।

केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक÷दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिनुभयो । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका सङ्क्रमित मङ्गलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएको जानकारी दिँदै डा. राजभण्डारीले पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको बताउनुभयो । सार्वजनिक यातायातमा सडकमा हिँड्ने सबैले मास्क प्रयोग गर्न छोडेको जानकारी दिँदै उहाँले कोरोनालाई बेवास्ता गरे यसको दोस्रो वेभ पहिलेको भन्दा खतरा हुनसक्ने बताउनुभयो ।

सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने बताउँदै निर्देशक डा. राजभण्डारीले नागरिक आफैँ सचेत बन्नुपर्नेमा जोड दिनुभयो । सबैले आ–आफ्नो ठाउँबाट लाग्न सके कोरोनालाई परास्त गर्न सकिने उहाँले बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भारतमा कोरोना भाइरस बढ्नुले नेपाललाई थप जोखिम बढाएको बताउनुभयो । भारतमा सङ्क्रमण बढ्दै जाँदा कोरोना भाइरस नयाँ ढङ्गबाट फैलिरहेको हो कि भन्ने शङ्का उब्जाएको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिमलाई बेवास्ता गरेर धेरै जना फुक्काफाल हिँडिरहेको भन्दै यसले धेरै ठूलो प्रभाव पार्न सक्ने चेतावनी डा. बास्तोलाले दिनुभयो । पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना सङ्क्रमणको नयाँ अध्याय सुरु भएको बताउँदै उहाँले त्यस्तै असर नेपालमा पर्न सक्नेतर्फ सावधानी अपनाउन सुझाव दिनुभयो ।

डा. बास्तोलाले भारत, बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै नेपालमा यो बढ्दो क्रममा रहेको बताउनुभयो । मानिसले जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण सङ्ख्या बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न डा. बास्तोलाले
आग्रह गर्नुभयो ।

थपिए कोरोना सङ्क्रमित
नेपालमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेका छन् । दैनिक ५० देखि सयको हाराहारीमा पुग्ने सङ्ख्या दुई दिनयता ह्वात्तै बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा देशभर थप १८८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभरबाट थप ७७ जना सङ्क्रमित निको भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ७६, भक्तपुरमा पाँच र ललितपुरमा १६ जना थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा चार हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ ।

मङ्गलबार थपिएका सङ्क्रमित सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । त्यसैगरी निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार १२८ रहेको छ भने क्वारेन्टाइनमा ४८ जना छन् । विगत २४ घण्टामा मृतकको सङ्ख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्