RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१३ गते
४९० पटक

कांग्रेसले आसन्न १४औँ महाधिवेशनको कार्यतालिका पुनः हेरफेर गर्ने तयारी थालेको छ । विधान नै संशोधन गरेर अन्तिमपटक भन्दै कार्यतालिका बनाए पनि पूर्वतयारी गर्न नसकेपछि हेरफेरको तयारी सुरु भएको छ । कार्यतालिका हेरफेरसम्मका विषयमा छलफल गर्न कांग्रेसले २० चैतमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको कार्यतालिकामाथि छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । ‘कांग्रेस सम्पूर्ण रूपमा महाधिवेशनको तयारीमा जुटेको छ, नेताहरू पनि त्यसैमा केन्द्रित हुनुहुन्छ, केन्द्रीय समिति बैठकको एजेन्डा पनि त्यही हो,’ पौडेलले भने । नेताहरूका बीचमा समयमै महाधिवेशन गर्न साझा सहमति बनेको र त्यहीअनुसार पूर्वतयारीका कामलाई गति दिइएको उनले बताए ।

कांग्रेसले आगामी ७–१० भदौमा १४औँ महाधिवेशनको मिति तोकेको छ । तर, महाधिवेशनको मिति नजिकिँदै गर्दा पूर्वतयारीका लागि गर्नुपर्ने कामको प्रगति भने धेरै छैन । कार्यतालिकाअनुसार ७७ वटै जिल्लाले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नुपर्ने म्याद गत मंगलबारबाट सकिएको छ । तर, कुनै पनि जिल्लाले सदस्यताको अन्तिम सूची बुझाएका छैनन् । बुधबारसम्म ७७ वटै जिल्लाका साढे चार लाख क्रियाशील सदस्यहरूको विवरण इन्ट्री भएको मुख्यसचिव पौडेलले जानकारी दिए । केन्द्रीय समितिले महाधिवेशनको पूर्वतयारीको मुख्य काम क्रियाशील सदस्यता छानबिन तथा अनुगमनका लागि युवा केन्द्रीय सदस्यहरूलाई खटाएको छ । समितिले स्थलगत रूपमा समेत खटिएर ताकेता गरिरहेको छ ।

तल्ला तहका अधिवेशन प्रभावित हुने

केन्द्रीय सदस्य जीवन परियार छानबिन समितिले क्रियाशील सदस्यतालाई महत्वका साथ लिएर काम गरिरहेको बताउँछन् । ‘हाम्रो सम्पूर्ण समय क्रियाशील सदस्यताको काममा लगाएका छौँ । तर, अझै पनि छानबिनको काम सुरु हुने कुरा छैन, विवरण नै तयार नभएसम्म छानबिन सम्भव पनि छैन,’ उनले भने । कार्यतालिका प्रभावित भएका कारण त्यसको प्रत्यक्ष प्रभाव तल्ला तहको अधिवेशनमा पर्ने निश्चित छ । आगामी केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राखेर तल्ला तहको अधिवेशनसम्मका कार्यतालिकामा हेरफेर गर्नुपर्ने र अबको कार्यतालिकालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल हुने एक नेताले बताए ।

कांग्रेसमा हाल करिब पाँच लाख क्रियाशील सदस्य छन् । १४औँ महाधिवेशनअघि कांग्रेसले शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्दै छ । यस आधारमा कांग्रेसमा अब क्रियाशील सदस्यको संख्या दश लाख पुग्नेछ । यसपटक कांग्रेसले सदस्यताको विवरण सफ्टवेयरमा तयार गर्दै छ । कांग्रेसले हरेक जिल्ला र क्षेत्रीय समितिले सदस्यता वितरण र नवीकरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गर्न निर्देशन गरेको छ । तर, अहिलेसम्म नौ जिल्लामा क्रियाशीलको विवरण इन्ट्री गर्ने काम सुरु नै भएको छैन । देशभरका करिब तीसवटा जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको समस्या रहेको छ । ‘तीमध्ये अधिकांश जिल्ला ठूला छन्, जहाँ धेरै क्रियाशील सदस्य छन्, त्यहाँ नै काम सुरु भएको छैन,’ छानबिन समितिका एक सदस्यले भने । कतिपय जिल्लामा गुटगत विवादका कारण क्रियाशीलको काम रोकिएको छ ।

७७ वटै जिल्लाको अनुगमन गरेको समितिका सदस्य प्रदीप पौडेलले प्रदेश २ का आठ जिल्लामा सबैभन्दा धेरै समस्या रहेको बताए । ‘गण्डकीमा सबैभन्दा धेरै काम भएको छ, बाँकी प्रदेशमा पनि काम सन्तोषजनक मात्रै छ, तर प्रदेश २ मा ठूलो समस्या देखिएको छ,’ उनले भने । गत ६ फागुनमा सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिकाअनुसार छानबिन समितिले क्रियाशील सदस्यतामाथि छानबिनसमेत सकेर अन्तिम नामावली केन्द्रीय समितिलाई बुझाउनुपर्ने म्याद १७ जेठसम्म छ ।

नयाँ पत्रिका दैनिकबाट………

प्रतिकृया दिनुहोस्