RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१७ गते
६६८ पटक

काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन्।

सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन्। सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। सन्जोग फाइनल खेलमा म्यान अफ दि म्याच समेत घोषित भए।

विशालले खेलको ४२ औं मिनेटमा अर्को गोल गरे। रन्जित धिमालको पासमा सन्जोग राईले छोएको बललाई विशाल राईले गोल गर्न सफल भए।

बंगलादेशले ८१ औं मिनेटमा एक गोल फर्काएको थियो। जमल भुयाको कर्नर बलमा उनले उत्कृष्ट हेड गोल गरेका थिए।

किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो।

नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। विजेता टोली नेपालले पाँच हजार र उपविजेताले बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्