RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१७ गते
८३७ पटक

कोभिड–१९ को असरले इन्धन खपत घटेसँगै आयात सात प्रतिशतले घटेको छ । एक वर्ष अघिदेखि सुरु भएको कोभिडका कारण अझै पूर्णरूपमा उद्योग व्यवसाय सञ्चालन नभएको र यसको असर पनि पूर्णरूपमा अन्त्य नभएका कारण खपत कम भई आयात घटेको हो । नेपाल आयल निगमका अनुसार मार्च महिनासम्म ७९ अर्ब ८२ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको १७ लाख ३ सय ८९ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १८ लाख २१ हजार किलोलिटर आयात भएको थियो ।

कोभिडका कारण बजारमा खपत कम भएपछि फागुन मसान्तसम्ममा इन्धन आयात ७ प्रतिशतले घटेको निगमले जानकारी दिएको छ । गत वर्ष चैत ११ गतेदेखि सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न बन्दाबन्दी गरेको थियो । जसका कारण पेट्रोलियम पदार्थको खपत तथा आयत चैतदेखि चार महिना ठप्प नै रह्यो ।

निगमका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढी डिजेल ४७ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ६७ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो । डिजेलको आयात परिमाण घटेकाले रकम कम भएको हो । इन्धन आयात गरेवापत पछिल्लो समय निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी)लाई मासिक १० देखि ११ अर्ब रुपैयाँ तिर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले परिणाम घटे पनि रकम भने बढेको निगमले जानकारी दिएको छ । पछिल्लो चार महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढ्दै आएको छ । निगमका अनुसार मार्च महिनासम्म सबैभन्दा धेरै डिजेल मासिक १ लाख २९ हजार ९ सय ४३ किलोलिटरका दरले ९ लाख ७४ हजार ५ सय ७६ किलोलिटर आयात भएको छ ।

यस्तै पेट्रोल मासिक ४९ हजार ५ सय ६९ किलोलिटरका दरले मार्च महिनासम्म ३ लाख ७१ हजार ७ सय ७२ किलोलिटर आयात भएको छ ।
निगमका अनुसार मासिक ६ हजार १ सय १२ किलोलिटरका दरले हवाई इन्धन ४५ हजार ८ सय ४० किलोलिटर आयात भएको छ । कोभिडका कारण लामो समयसम्म हवाई उडान नहुँदा इन्धनको खपत कम भएको छ ।

निगमका अनुसार मासिक ३९ हजार १ सय १७ मेट्रिक टनका दरले मार्च महिनासम्म २ लाख ९३ हजार ३ सय ८१ मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ । लकडाउको अवधिमा लामो समय होटेल रेस्टुराँ बन्द भएकाले ग्यासको खपतसमेत घटेको थियो ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर खपत हुने गर्छ । यस्तै खाना पकाउने एलपीजी ग्यास मासिक ३० देखि ४० हजार टनसम्म खपत हुने गर्छ । निगमका अनुसार वार्षिक रूपमा इन्धनको खपत ८ देखि १० प्रतिशतका दरले बढ्दै गएको छ । अहिले भने कोभिडका कारणले खपत कम भएकाले आयात कम भएको निगमको भनाइ छ ।

कारोबार दैनिकबाट…..

प्रतिकृया दिनुहोस्