RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१९ गते
७२० पटक

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।

जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि, बन्दाबन्दीका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्न सकेको थिएन ।

अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।

त्यस्तै, सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

काठमाडौं विश्वविद्यालयका सामुदायिक तथा जनस्वास्थ्य कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले नेपालमा कोरोना संक्रमण विस्तारै बढ्न थालेको बताए ।

‘दोस्रो चरणको संक्रमण बढ्ने सम्भावना छ, व्यक्तिगत रूपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्छ,’ उनले भने, ‘कोभिड शंका लागे परीक्षण गराउनुपर्छ, सधैं मास्क प्रयोग गर्नुपर्छ ।’

सरकारले सीमानाका क्षेत्रमा आइसोलेसन राख्ने बताएको छ । संक्रमण पुष्टि भए आइसोलेसन सेन्टरमा १० दिन राखेर मात्रै गन्तव्य पठाउने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा जनस्वास्थ्यका मापदण्ड पालना गरिए पनि विस्तारै पालना गर्न छोडिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले भारतबाट आउनेलाई जाँच गरेर मात्रै प्रवेश दिइने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिए । ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्छ, हातले मुख, नाक छुनुहुँदैन,’ उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । दोस्रो चरणको सम्भावित संक्रबाट रोक्न स्वास्थ्य सेवा तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ ।’

यसैबीच, केही दिनयता सक्रिय कोरोना भाइरस संक्रमित संख्या बढेको छ । हाल, देशभर १ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् । ३ अंकमा झरेको सक्रिय संक्रमित संख्या पछिल्लोे एक सातायता बढ्दै गएको छ ।

नेपालमा यो सातालाई आधार मान्दा ३८ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योस“गै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्