RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३० गते
५९६ पटक

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।

तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएको छ । यसले पनि शैक्षिक संस्थामा थप अन्योलता बढाएको हो ।

निजी विद्यालयको छाता संगठन प्याब्सनले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन हुन दिनुपर्ने आवश्यकता आंैल्याए ।

देशभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको भन्दै संक्रमण दर बढी भएको स्थानमा सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गर्ने विकल्प खोज्नुपर्ने प्याब्सनको भनाइ छ । प्याब्सनका अध्यक्ष पुरीले विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पूर्णतः पालना गर्नुपर्ने भन्दै विद्यालय बन्द गर्न उपयुक्त नहुने बताए ।

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शिक्षालयमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापनजस्ता कार्य सरकारका सम्बन्धित निकायको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा अवस्था हेरेर जोखिम स्थानमा विद्यालय बन्द गर्न सकिने प्रस्ताव लगेको थियो । सो प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन । शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सो प्रस्तावअघि बढाउने तयारी छ । कोरोना संक्रमण बढेपछि शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई सोमबार (आज) छलफल गर्न बोलाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार शैक्षिक संस्थालाई तीन साता अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिएपछि आज शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाएको हो । कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव लिइने शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए ।

यस्तै, देशभर आइतबार ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ जना रहेको छ ।

आइतबार ३ हजार १ सय २५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २३ लाख १२ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ । हाल ८३ जना क्वारेन्टाइनमा छन् । आइतबार १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको छ ।

राजधानी दैनिकबाट………..

 

प्रतिकृया दिनुहोस्