RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१ गते
५०९ पटक

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर रूपमा जसपा नेता छलफलमा भए पनि कोसँग सत्ता सहकार्य गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।

जसपा कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले कोसँग मिलेर सरकार निर्माण गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले आवश्यक नै नभएको बताए । सबै राजनीतिक दलसँग सरकार निर्माणका लागि छलफल भइरहेको बताउँदै उनले आवश्यक समयमा सही निर्णय पार्टीले गर्ने बताए ।

‘हाम्रा लागि सबै समान छन् । कसैसँग दोस्ती र कसैसँग दुस्मनी छैन । अहिले नै सरकार निर्माण गर्ने विषयमा निर्णय गर्ने समय भएको छैन,’ कर्णले राजधानीसँग भने, ‘हामी सबै पक्षसँग छलफल गरिरहेका छौं । हाम्रा माग सम्बोधन गर्ने पक्षसँगै हामीले सहकार्य गर्ने हो ।’

मंगलबार बस्ने भनिएको जसपा पदाधिकारी बैठक स्थगित भएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाममा पार्टी कार्यका लागि पुगेकाले बैठक बस्न नसकेको हो । महतो काठमाडौं आएपछि पदाधिकारी बैठक बस्ने कर्णले बताए ।

यसअघि बसेको जसपा पदाधिकारी बैठकले एमाले वा कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न सकेन । अहिले पनि जसपा नेता एमाले र कांग्रेस दुवै दलका नेतासँग सत्ता सहकार्यका लागि आन्तरिक छलफलमा रहेका छन् ।

जसपा स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीइतरको सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा जसपाभित्र विवाद छैन । तर, कसको नेतृत्वको सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको जसपा स्रोतले जनाएको छ । पार्टीभित्रको छलफलका क्रममा अध्यक्ष ठाकुरले आफूहरूको माग सम्बोधन गर्नमा ओली सरकार सकारात्मक रहेकाले यही सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने बताइएको छ । तर, डा. भट्टराई र यादव समूहले ओली नेतृत्वको सरकारमा जानै नहुने अडान राख्दै आएका छन् ।

जसपा नेता अजय गुप्ताले सरकारमा सहभागी हुने विषयमा अहिले नै निर्णय गर्नुपर्ने आवश्यक नभएको बताए । सरकार निर्माणका विषयमा छलफल चलिरहेको बताउँदै उनले जसपाले उठाउँदै आएको माग सम्बोधन गर्नेसँग नै सहकार्य हुने बताए ।

‘हामीले उठाउँदै आएको माग सम्बोधन गर्नमा जसले सहयोग गर्छ, उसैसँग सहकार्य हुन्छ,’ गुप्ताले भने, ‘सबैसँग छलफल भइरहेकाले अहिले नै कुनै निर्णय गर्न आवश्यक छैन ।’

सत्ता समीकरणमा निर्णायक बनेको जसपाभित्र ठूलो मतभेद रहेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विवादकै कारण जसपाले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका साथै पार्टी एकताका बाँकी काम अझै टुंगो लगाउन सकेको छैन ।

डा. भट्टराई र यादव समूहलाई जानकारी नै नदिई ठाकुर र महतो समूहले एमालेसँग सत्ता सहकार्यका लागि भित्रभित्रै वार्ता समिति बनाएर छलफल गर्दै आएका छन् । जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यस्तै, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।

प्रतिनिधिसभामा जसपासँग ३४ सांसद रहेकोमा दुई जना निलम्बित छन् । जसपासँग सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्रका साथै कांग्रेसले समेत छलफल गरिरहेको छ ।

राजधानी दैनिकबाट…………

प्रतिकृया दिनुहोस्