RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१ गते
७६३ पटक

हामी नेपालीहरूले नयाँ वर्ष सधै वैशाख १ गतेको दिनमा मनाउने गर्छांै । यस वर्ष उक्त दिन बुधबार परेको छ । तिथिका हिसाबले उक्त दिनमा मेष संक्रान्ति, बिस्केट जात्रा र मत्स्य जयन्ती व्रत पनि परेको छ ।

२०७७ सालमा नेपाललगायत विश्वले नै कोरोना महामारीका कारण निकै कठिन समस्याहरू भोग्नुपरेको थियो । त्यसैले कोरोना भनेको सम्पूर्ण मानव जगत्लाई आइपरेको समस्या हो । यसले समग्र रूपमा सबै पेसा–व्यवसायलाई नै असर पारेको छ । कतिपय मानिसले घर–परिवारलगायत स्वयम् आफ्नो ज्यानसमेत गुमाएका थिए ।

अधिकांश व्यवसायहरू बन्द भएका थिए । विश्वकै अर्थतन्त्र डामाडोल भएको थियो । त्यसैले २०७७ साल सबैका लागि लाभदायक नभएको सबैको दाबी गरिन्छ । २०७७ सालमा बढीभन्दा बढी पर्यटकहरूलाई आकर्षित गरी पर्यटन व्यवसायलाई फस्टाउने, विदेशी मुद्रा नेपाल भिœयाउने र स्रोत तथा साधनको अधिकतम प्रयोग गरी रोजगारी बढाउने योजनालाई कोभिड–१९ को प्रकोपले पूरै ध्वस्त बनाएको थियो ।

त्यसैले आउँदै गरेको नयाँ सालबाट सबै जनाले धेरै आशा बोकेका छन् । विगतको दाँजोमा कोरोनाको प्रकोप पनि बिस्तारै कम हुँदै छ । कोरोनाको खोप बनिसकेको कारणले अब मानिसहरू विश्वस्त बन्दै सामान्य जीवन बिताउँदै छन् । उथलपुथल भएको अर्थतन्त्रले केही स्वरूप फेर्ला कि भन्ने आशाका साथै नयाँ सालमा नयाँ–नयाँ अवसरहरू प्राप्त गर्न सकिन्छ कि भन्ने आशा तथा उमङ्ग सबैको मनमा रहेको छ ।

कोरोना महामारी बिस्तारै कम हुुँदै गएसँगै बिस्तारै–बिस्तारै देशमा आन्तरिक पर्यटकहरूको आवागमन पनि बढ्दै गएको छ र विदेशीको आवागमनमा लगाइएको प्रतिबन्ध खुलाइनुका साथै आवागमनलाई सरलीकृत गरिएको छ, जसका कारण रोजगारी गुमाएकाहरूलाई रोजगारीको सम्भावना देखिन सक्नेछ ।

नेपाल पर्यटनका हिसाबले एकदम राम्रो देश हुनाले पर्यटकहरू नेपाल आउन नपाउँदा देशलाई ठूलो क्षति भएको छ । नेपालमा रहेका अनेकौं खोलानाला, हिमाल–पहाड, झरना, ताल, हिमताल, पोखरी, पुरातात्विक सम्पदा बोकेको मठमन्दिरलगायत यहाँको आफ्नै मौलिकता, भाषा, रहनसहन, कला–संस्कृतिले विदेशीलाई समेत हाम्रो देशप्रति आकर्षित र मोहित बनाउने गर्छ । त्यसैले हामीले हाम्रो देशमा भएको स्रोतसाधनको समुचित प्रयोग गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सक्छौं ।

नेपालको भूमिलाई उर्बर भूमिको रूपमा मानिने हुँदा हामीले नेपालको पैसा विदेशमा लगानी गरेर बिदेसिनुभन्दा उक्त पैसालाई नेपालकै कृषि क्षेत्रमा लगानी गरेर आफ्नै देशमा, आफ्नै परिवारको सुखदुःखमा सँगै बसेर स्वदेशमै रामो आम्दानी कमाएर आफ्नो देशलाई उक्त क्षेत्रमा बलियो र आत्मनिर्भर बनाउन सक्छौं ।

समाजमा हामी कतिपय उदाहरणहरूसमेत देखिरहेका हुन्छांै कि विदेशमा धेरै वर्ष दुःख गरेर स्वदेश फर्केर माछापालन, पशुपालन तथा खेती गरेर लाखौं आम्दानी गर्न सफल भएका छन्, जसले आफ्नो व्यक्तित्व र प्रतिभा आफ्नै देशमा प्रस्तुत गरेर आफ्नो देशलाई हरेक तवरबाट सक्षम बन्नमा मद्दत गरिरहेका छन् ।

त्यसैले हिम्मत र आँट गरेमा यहीं आफ्नै देशमा पनि काम गर्नका लागि धेरै अवसरहरू छन् । आफ्नो श्रम र मेहनत स्वदेशमै खर्च गरौं र २०७७ सालमा सबै जना घरभित्र थुनिएर बस्न बाध्य भएका थियौं, तर नयाँ सालमा भने आफ्नो घरपरिवारसँग बसेर, आफन्तहरूसँग भेटघाट गरेर, मठमन्दिरलगायत अन्य ठाउँहरूमा घुम्न जान पाइने कारणले पनि यस सालप्रतिको उमङ्ग भिन्दै रहेको छ ।

तर, कोरोना महामारीको अन्त्य भने भएको छैन, त्यसैले स्वास्थ्य तथा सुरक्षाको मापदण्डको पालना गरी आफू पनि सुरक्षित रहांै र अरूलाई पनि सुरक्षित राखौं ।

कारोबार दैनिकबाट…………

प्रतिकृया दिनुहोस्