RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२ गते
४३४ पटक

अनामनगर डेरा गरी बस्ने सर्वदा खनाललाई विश्वास नै थिएन । मेलम्चीको पानी यो वर्ष नै आउला भनेर । पानीकै समस्याका कारण उनले ३ वर्षमा ४ ठाउँमा डेरा सरिन् । जहाँ पनि पानीकै समस्याले दिग्दार बनाउँथ्यो उनलाई । कयौं रातै मारेर पानीको लाइनमा बसेको तितो यथार्थ उनको मानष्पटलमा सम्झाना बनेर बसिरहेका छन् ।

अब विश्वास छ उनलाई ती कहालीलाग्दा दिनहरू फर्कने छैनन् । पानीका लागि निद्रा नै फालेर रात मार्नुपर्ने बाध्यता अब सम्झानामा मात्रै हुनेछ, न कि यथार्थतामा ।

मेलम्ची आएसँगै उनीमा छुट्टै उमंग छाएको छ । “हामीले कति दुःख पो पाइयो, रात मारेर पानीका लागि लाइन बसियो, कति डेरा सरियो,” उनी सम्झनन्छिन्, “रातभर निदाउन नपाउने , कलेजमा झुपु झुपु निद्रा लाग्थ्यो अहिले सम्झन पनि मन लाग्दैन ती दिनहरू । अब त मेलम्ची आइसेकेको छ, ती पानीको समस्या भोग्नुपर्ने दिन फर्केर आउँदैन भन्ने विश्वास छ ।”

गर्मी याम सुरु भएसँगै सामाखुसीकी कमला थापालाई चिन्ताले सताउँथ्यो । गर्मीयाममा ट्युवेल सुक्छ । पानी कहाँबाट ल्याउनु ? धारामा पानी १ साता बिराएर आउँछ । त्यो पनि १ रात नै अनिदो बस्नुपथ्र्यो । मेलम्ची आउँछ भन्दै भाका सर्दै गथ्र्यो । उनलाई लाग्थ्यो सधै मेलम्ची आउँछ भनेर दिएको आश्वासन यो पालि पनि खेर जानेछ । मेलम्ची नआउन सक्छ भन्ने शंका थियो । तर लामो समयको पर्खापछि मेलम्ची अयो । अहिले उनी खुसी छिन् ।

लैनचौरकी शोभा सापकोटाको पानीको कहानी पनि उनको भन्दा फरक छैन । सापकोटाले हरेक दिन जसो भोगेको पानीको समस्या उस्तै थिए अरु उपभोक्ताका जस्तै । उनले पनि कयौं रात माया मारेकी छिन् पानीकै लागि । अहिले मेलम्ची आएपछि उनमा खुसीको सीमा नै छैन ।
खनाल र सापकोटा त प्रतिनिधि पात्र मात्रै हुन् ।

यस्तै प्रतिनिधिका अन्य पात्र थुप्रै छन् उपत्यकामा । उनीहरूले जस्तै धेरैले पानीको विकराल समस्या भोग्नुपरेको तितो यथार्थ अझै पनि कल्पना बनेर छचल्किरहन्छ । मेलम्ची आएपछि धेरै उपभोक्ताको चेहारामा खुुसीको भाव पैदा भएको छ ।

३५ अर्ब रुपैयाँ खर्च गरेर बनेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा चिनिएको मेलम्ची खानेपानी आयोजनाले पूर्णता पाएसँगै झन्डै २ दशकदेखिको उपत्यकाबासीको पर्खाइको घडी समाप्त भएको छ । लामो समयदेखि खानेपानीको विकराल समस्या भोग्दै आएका उपत्यकाबासीमा खुसी छाएको छ ।

२ दशकपछि उपत्यकाबासीले यो वर्ष मेलम्चीको पानी प्रयोग गर्न पाएका छन् ।१५ दिन अघिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा उक्त आयोजनाबाट पानी पठाउन थालिएको थियो । पटक पटक भाका सार्दै अगाडि बढेको मेलम्ची आउँछ भनेर पत्याउन छोडेका उपत्यकाबासीलाई अब भने राष्ट्रिय गौरवको मेलम्ची आयोजना सकिएर पानी पाउन थालेपछि विश्वास र उमंग बढेको हो ।

काठमाडौ. उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले हाल साढे ८ करोड मेलम्चीको पानी वितरण भइरहेको जानकारी गराए । आगामी १ महिनाभित्र १७ करोड पानी वितरण गरिने खानेपानी मन्त्रालयले बताएको छ ।

मेलम्ची आएपछि खानेपानी सहज
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने छ । खानेपानी मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर दैनिक आवश्यक छ । मेलम्ची पानी आउनु अगावै १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ ।

मागअनुसार निकै थोरै पानी आवश्यकता भएको देखिन्छ । मेलम्चीको पहिलो चरणको आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुनेछ । अहिले आधा मात्रै पानी आएको छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउनेछन् । बढी भएको पानी बागमतीमा बगाउने सरकारी योजान छ ।

कारोबार दैनिकबाट………….

 

प्रतिकृया दिनुहोस्