RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३ गते
४४६ पटक

धनगढी बजारमा दैनिक रुपमा माछा बिक्री विवरण भइरहेपनि स्थानीयस्तरमा उत्पादन भएको माछा बजारमा छैन । सिजनमा स्थानीय स्तारमा उत्पादन भएको ताजा माछा बजार पाइन्छ । तर अहिले भारतका विभिन्न स्थानबाट आयात गरिएका माछा बिक्रीमा छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेश दूध, माछा, मासु र अण्डामा अझै पनि आत्मनिर्भर हुन नसकेको हो । प्रदेशमा मागअनुसार दूध, माछा, मासु र अण्डा उत्पादन हुन नसकेको छैन ।

नेपाल सरकारले केही दिन अघिमात्र नेपाललाई मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेपनि सुदूरपश्चिम प्रदेशमा नेपालका पूर्वी क्षेत्रबाट कुखुराको मासु, अण्डा आयात हुने गरेको छ भने भारतबाट माछा आयात हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशको २९ लाख नौ हजार तीन सय ३७ जनसंख्या छ । जसलाई विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष दूध ९१ लिटर, माछा तथा मासु १४ किलोग्राम र अण्डा ४८ गोटा आवश्यकता पर्दछ । सुदूरपश्चिम प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष दूध ८०.७९ लिटर, माछा तथा मासु १०.६८ किलोग्राम र अण्डा २२.२९ गोटा मात्रै उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा १० लाख छ हजार गाई, पाँच लाख १५ हजार भैंसी रहेकोमा दूधालु गाई एक लाख ४३ हजार र दूधालु भैसी एक लाख ४४ हजार रहेको निर्देशनालयको तथ्यांक छ । गाई र भैंसीबाट वार्षिक सरदर दुई लाख ४४ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा ब्रोइलर, लेयर्स, लोकल कुखुरा, हाँस र अन्य जातका गरी पोल्ट्रीमा ३१ लाख ११ हजार विभिन्न जातका अण्डा दिने पन्छीको उत्पादन भइरहेको छ । निर्देशनालयका अनुसार प्रदेशमा ब्रोइलरबाट एक लाख ६४ हजार, लोकल कुखुराबाट एक लाख ९८ हजार र अन्य जातका पोथीबाट १७ हजार गरी तीन लाख ७९ हजार अण्डा वार्षिक रुपमा उत्पादन हुने गरेको छ भने हाँसका अण्डा वार्षिक पाँच हजार चार सय ७५ रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा भैंसीको मासु वार्षिक आठ हजार, मटन वार्षिक दुई हजार ७५, चेभन १३ हजार चार सय, पार्क दुई हजार सात सय ४५ र चिकेन चार हजार एक सय ७० गरी ३१ हजार ९० किलो उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा भेडा ९९ हजार, बाख्रा १० लाख ७३ हजार, बंगुर पाँच लाख ७६ हजार, कुखुरा २९ लाख ८३ हजार, हाँस एक लाख २८ हजार, चौरी गाई एक हजार तीन र गधा पाँच हजार पाँच सय पालिएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुलबहादुर बोहराले सुदूरपश्चिम प्रदेश अझै पनि दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर हुन नसकेको बताए । तर अहिले प्रदेशमा माछा, मासु, अण्डा र दूधको उत्पादन बढेको बताए ।

उनले प्रदेशको उत्पादनका आधारमा आत्मनिर्भर भएको भन्न नहुने बताउँदै पशुपन्छीका आवश्यक आहार अझै भारतलगायतका देशबाट आयात गरिरहेको बताए । उनले प्रदेशकै उत्पादनले नागरिकलाई खान पुग्नुका साथै पशुपन्छीको आहार समेत प्रदेशमै उत्पादन भएमा आत्मनिर्भर भएको मानिने बताए ।

“प्रदेश माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर हुन नसकेकै कारण उपभोक्ताले महंगोमा खरिद गरिरहनु परेको छ,” “सर्वसुलभ, गुणस्तरीय र कम लागतमा यहीं उत्पादन गरेर बजारको माग अनुसार पुगेमा आत्मनिर्भर भन्न सकिन्छ ।”

अझै पनि प्रदेशका कतिपय स्थानीय तहमा दूध र मासु दैनिक उपलब्ध हुन सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । सरकारले प्रदेशमा कुखुरा, गाई, बाख्रा, भंैसीलगायत पालनमा जोड दिँदै विभिन्न अनुदान, उपकरण सहयोगलगायतका कार्यक्रम गरिरहेको छ ।

योसँगै प्रदेशमा परम्परागत शैलीमा भइरहेको पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउन पनि मन्त्रालय मातहातका कार्यालयहरूले विभिन्न कार्यक्रम अघि बढाएको सूचना अधिकारी बोहराले बताए ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्