RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/५ गते
४७८ पटक

प्रधानमन्त्री भएको डेढ महिना नबित्दै केपी शर्मा ओली राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न लामाबगर आए । चिनियाँ राजदूत र ऊर्जामन्त्री वर्षमान पुनलगायतको टोली लिएर आएका २ तिहाइका प्रधानमन्त्रीले अत्यन्तै उत्साहका साथ एक वर्षमा माथिल्लो तामाकोसी पूरा गर्ने र लामाबगर सुरुङमार्ग बनाएर चीन जोड्ने घोषणा नै गरे ।

लामाबगरमा प्रधानमन्त्री ओलीले घोषणा गरेको चैत २८ गते ३ वर्ष पूरा भयो । उनले भ्रमण गर्दा ९५ प्रतिशत भौतिक प्रगति भएको माथिल्लो तामाकोसीको ५ प्रतिशत काम न त अहिलेसम्म पूरा भयो न लामाबगर सुरुङमार्गको काम नै सुरु भयो । दुवै कामको घोषणाको प्रत्यक्ष साक्षी रहेका स्थानीय पेमानुर्बु शेर्पा भन्छन्, “दुई तिहाइको प्रधानमन्त्रीले बोलेका कुरा त यस्तै रहेछ, अरुको त के विश्वास गर्नु ?”

तत्कालीन समयमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधमै पुगेर अवलोकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषणा गरे “ढुक्क हुनुस्, ६÷७ किलोमिटर सुरुङमार्ग खनेरै भए पनि चाँडै लामाबगरदेखि तिब्बत नाका जोडिन्छ ।” उनले त्यही बेला भन्न भ्याए “यो नाका चीनसँग नयाँ खोल्ने नाकाको उच्च प्राथमिकतामा छ ।” उनको यो घोषणा ३ वर्षसम्म त बोलीमै सीमित भएको छ ।

लामो समय भौगोलिक कठिनाइका बाबजुद प्रगति हुन नसके तापनि प्रधानमन्त्री स्थलगत निरीक्षणमा पुग्दा बाँधसम्मको ३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम जारी थियो । त्यसपछि काम अघि बढ्न सकेको छैन । त्यसबेलाको कामको भुक्तानीका लागि निर्माण व्यवसायी डिभिजन कार्यालय चरिकोटमा केही समय अघिसम्म धाउँदै थिए ।

तामाकोसीको बाँधस्थल क्षेत्रमा आयोजनाले नै ७ वर्षअघि ९ सय मिटर सुरुङ बनाउनु पर्ने डिजाइनसमेत तयार भएको छ । त्यही सुरुङको डिजाइनलाई आधार मानेर सडक विभागले डीपीआर तयार गरेको छ । विभागले गरेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार २ अर्ब ४६ करोड २३ लाख लागत अनुमान गरेको छ ।

डीपीआरपछि सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको एक महिनाअघि मात्र सहमति पनि माग गरेको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ‘हेडवक्र्स’को दायाँतिरको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न सबैभन्दा छोटो मार्ग पर्नेछ । सुरुङमार्ग बनेपछि थप १० किलोमिटर सडक बनाउँदा चिनियाँ सिमाना ङ्याङ्लुङ जोडिँदा नाका खोल्नसमेत सहज हुनेछ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको हो ।

आयोजना सञ्चालनमा आएपछि बाँधमा पानी भरिँदा सडक बनाउन समस्या हुने भएकाले चाँडै बाँध क्षेत्रको सडक पूरा गर्न आयोजनाका अधिकारीले पटक पटक सरकारको उच्चस्तरमा जानकारी गराउँदै आएका छन् । अहिले आयोजनाको काम अन्तिम चरणमा छ तर सडकको काम बन्द हुने अवस्था भयो ।

यस्तो छ तीन देश जोड्ने सडक
भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै दुई लेनको तयार भएको छ । आयोजनाको बाँधस्थलको निरीक्षणका क्रममा आउने उच्चस्तरीय अतिथिलाई अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको बाँध बनेपछि तिब्बत जोड्ने सडक निर्माणमा समस्या हुने बताए । बाँधमा पानी भरिने भएपछि लामाबगरबाट उत्तर लप्चीतर्फको हिँड्ने बाटोसमेत नरहने भएकाले यसलाई चाँडै विशेष निर्णय गरेर ट्रयाक खोल्नु पर्ने बताए ।

लामाबगर नाका तातोपानी भन्दा पुरानो भन्सार भएको विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए । उनले यो नाका परम्परागत काठमाडौं र मिथिलाञ्चलको तिब्बतसँगको एकमात्र नाका भएकाले त्यसलाई सुचारु गराउन प्रधानमन्त्रीले विगतमा चीनसँग भएको सम्झौताअनुसार काम गर्नुपर्ने बताए ।

लामाबगर भिट्टामोड उत्तर दक्षिण त्रिदेशीय लोकमार्ग थोरै लगानीमा बन्ने अहिलेसम्मकै छोटो हुनेछ । नेपाल सरकारले विगतमा चीनसँग उत्तरका ७ वटा नाका खोल्नेमा लामाबगर पनि रहेको छ । तर त्यसपछि कुनै प्रगति हुन सकेको छैन । भारती सीमा भिट्ठामोडदेखि लामाबगरसम्म २ सय ४५ किलोमिटर सडक तयार छ । जुन सिंगटीदेखि लामाबगरसम्मको सडक मात्र ग्राभेल छ अरु कालोपत्रे सडक हुन् । लामाबगरदेखि तिब्बतको फलाक नाकासम्म १३ किलोमिटर सडक बनाए पुग्ने अवस्था छ ।

सडक विभागको सुरुङ महाशाखाले चालू आवमा ३० लाख बजेट विनियोजन गरेको छ । लामाबगरभन्दा उत्तरतिर ४ वटा जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गर्ने अन्तिम तयारी गरेका छन् । सडक निर्माणकै लागि एमभी दुगड समूहको लगानीमा रहेको नासा हाइड्रोपावर कम्पनी प्रालिले ३ वटा डोजर हेलिकप्टरमार्फत उडाएर लुम्नाङ पु¥याएको छ । २ वटा डोजर तामाकोसीको बाँध क्षेत्रभन्दा माथि पु¥याएको छ । लप्चीमा काम गर्ने स्थानीय र मजदुरका लागि खाद्यान्न ढुवानीसमेत हेलिकप्टरमार्फत गरिरहेको छ । तर यही सुरुङमार्गका कारण काम अघि बढ्न नसकेको लप्ची खोला जलविद्युत् आयोजनाका डेपुटी म्यानेजर केबी बोहोराले बताए ।

कारोबार दैनिकबाट………..

प्रतिकृया दिनुहोस्