RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
४८५ पटक

सरकारले कोभिड– १९ को उच्च जोखिम भएका  सहरमा भौतिक उपस्थितिमा हुँदै आएको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूमा वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्लाका सबै र अन्य जिल्लामा उच्च जोखिम रहेका पालिकाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिकालाई कोभिडले बढी असर गरेकाले वैशाख मसान्तसम्मका लागि भौतिक कक्षा बन्द गरी भर्चुअल पठनपाठनलाई निरन्तरता दिने निर्णय भएको बताए ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले उच्च जोखिम भएको स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । मंगलबारबाटै वैकल्पिक विधिबाट पठनपाठन सुरु हुने उनले बताए ।

संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

सरकारले विभिन्न जिल्लाका उच्च जोखिम भएका स्थानीय तह तोकेरै भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुरका सबै स्थानीय तहका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय भएको छ । त्यस्तै, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिकाका र इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्था पनि बन्द हुनेछन् ।

त्यस्तै, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर र भीमदत्तनगर नगरपालिकामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरूमा पनि वैकल्पिक विधिबाट सिकाइका गतिविधि गरिनेछन् । सरकारले विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

परीक्षा नरोकिने
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले एसइईलगायतका कुनै पनि परीक्षा नरोकिने बताएका छन् । ‘परीक्षा कुनै पनि रोकिँदैन, असारमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ,’ उनले भने ।

राष्ट्रिय परीक्षा बोर्डले १३ जेठबाट एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । विश्वविद्यालयका परीक्षा सञ्चालन भइरहेका छन् ।

जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा
कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालय (केयू) तथा त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूले समेत अनलाइन कक्षालाई प्राथमिकता दिएका छन् ।

केयूको स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङलगायतले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् । त्रिविले कोभिडको जोखिम नभएको ठाउँमा भौतिक रूपमा उपस्थित भएर र जोखिम भएका ठाउँका क्याम्पसमा अनलाइनबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । केही विद्यालयले भने यस शैक्षिक सत्रमा तल्ला तहका विद्यार्थीलाई अनलाइन पठनपाठनलाई प्राथमिकता दिएका छन् ।

मन्त्रिपरिषद्का निर्णय
-सार्वजनिक स्थान र कार्यालयमा मास्क नलगाए १० रुपैयाँ जरिवाना
-एक ठाउँमा २५ जना बढी जम्मा हुन नपाइने
-होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाइने
-सार्वजनिक यातायातले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नपाउने
-आन्तरिक हवाई उडानमा मास्क र भाइजर अनिवार्य
-सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, क्लब, हेल्थ क्लब–जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार र दर्शकसहितको रंगशाला वैशाख मसान्तसम्मका लागि बन्द

नयाँ पत्रिका दैनिकबाट………..

प्रतिकृया दिनुहोस्