RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१२ गते
६५५ पटक

चालू आर्थिक वर्ष २०७७-०७८ को नौ महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.१२ प्रतिशतले बढेर ११ खर्ब १३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस अवधिमा १ खर्ब ३१ अर्ब आयात बढ्दा निर्यात भने १६ अर्बमात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै २० प्रतिशत निर्यात बढेर ९४ अर्ब ७६ करोड ११ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ७८ अर्ब ८१ करोड ८६ करोड ६१ हजार रुपैयाँको निर्यात भएको थियो ।

तर, आयात बढेसँगै मुलुकको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेलको कच्चा पदार्थ आयात गरेर नेपालबाट रिफाइन गरेर निर्यात हुँदा निर्यात उलेख्य बढेको विभागले जनाएको छ जसका कारण २८ अर्ब ८१ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरको भटमासको तेल नौ महिनामा निर्यात भएको छ । भारतले पाम आयल प्रतिबन्ध लगाएपछि व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरेर पुनः तेल निर्यात गर्ने गरेका छन ।

व्यापार विज्ञ पुरुषोत्तम ओझा कच्चा पदार्थ आयात गरेर निर्यात बढेको देखिए पनि त्यसबाट मुलुकको निर्यात बढ्न सकेको मान्न नसकिने बताउँछन् । “स्वदेशी उत्पादनको निर्यात बढ्न सकेको छैन,” उनले भने, “आयातदर बढ्दै गएकाले त्यसलाई कम गर्न स्वदेशी वस्तुको उत्पादनसँगै निर्यातमा जोड दिनुपर्छ ।”

भन्सार विभागकाअनुसार आयाततर्फ ९ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागको तथ्यांकका अनुसार १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै फलाम तथा स्टीलको आयात समेत १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँबराबरको भएको छ । यो अवधिमा ७३ अर्ब ८६ करोड रुपैयाँबराबरको सवारी साधन र त्यसको पार्टपुर्जा आयात भएको छ ।

नौ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै ७ खर्ब २४ अर्ब ९४ अर्ब ६३ लाख ४१ हजार रुपैयाँको आयात भएकोमा भारत निर्यात भने ६८ अर्ब ४३ करोड ५७ लाख ५३ हजार रुपैयाँको भएको छ ।

यस्तै, सो अवधिमा चीनबाट १ खर्ब ६४ अर्ब १३ करोड ३ करोड ६ लाख रुपैयाँको आयात भएकोमा ७९ करोड ६४ लाख १३ हजार रुपैयाँको निर्यात भएको छ । आयात बढ्दै गएपछि राजस्व संकलन पनि बढ्दै गएको छ । आयात बढेका कारण चालू आर्थिक वर्षको ९ महिनामा ३ खर्ब १४ अर्ब २६ करोड ६७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कारोबार दैनिकबाट……….

प्रतिकृया दिनुहोस्