RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१८ गते
५८६ पटक

नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष पहिले दुर्घटनामा परेको हेलिकप्टर र दुई वटा शव फेला पारेको छ।

धौलागिरी बेस क्याम्पदेखि २ हजार मिटर दक्षिणतर्फ माउण्टेन उपकरणसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट करिव १ किलोमिटर इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मृतकको पहिचान खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको जंगी अड्डाले जनाएको छ।

३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण फोर्स ल्याण्डिङ गरेको थियो । हेलिकोप्टर उडाइरहेका पाइलटलाई दोस्रो हेलिकोप्टर पठाएर उद्धार गरियो ।

दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको थियो । कम्पनीले बिमा दाबी गर्‍यो र हेलिकोप्टर बिमा कम्पनीले जिम्मा लियो । हिमालबाट उठाएर ल्याउन नसक्ने वस्तुहरु सहित हेलिकोप्टर त्यही छाडियो । सोहि अवशेष सेनाले फेला पारेको हो ।

मानव अवशेषहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय थालिएको पनि सेनाले जनाएको छ। नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलनका क्रममा फेला पारेको हो। नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सरसफाई गरिरहेको छ। वैशाख १२ गतेदेखि १६ गतेसम्ममा कुहिने १५५ केजी र नकुहिने ४ हजार ६९९ केजी फोहोर संकलन गरेको छ।

प्रतिकृया दिनुहोस्