RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२० गते
४७८ पटक

लुम्बिनी प्रदेश सभामा अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । विपक्षी दलहरूको विरोधबीच आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पोखरेलको शपथ गराएका छन् ।

प्रदेश सभामा अहिले ८१ सदस्य छन् । बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । तर, मुख्यमन्त्री पोखरेलको पक्षमा अहिले उपसभामुखसहित ३७ सांसद मात्रै छन् । पोखरेलले आइतबार बिहान मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृति गरेको केही घन्टामै प्रदेश प्रमुख यादवले उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । जब कि त्यसअघि नै माओवादी केन्द्र–कांग्रेससहितको विपक्षी गठबन्धनले ४० सांसदको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको जानकारी प्रदेश प्रमुखलाई गराएको थियो ।

प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । त्यसैले एकल बहुमतको सरकार गठन गर्ने रणनीतिसहित पोखरेलले राजीनामा दिएका थिए । तर, राजीनामालगत्तै एमाले सांसद विमला वलीले माओवादी केन्द्रमा लागेको घोषणा गरिन् । तत्कालीन नेकपाका तर्फबाट उनी गत उपनिर्वाचनमा दाङ ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।

दिउँसो १ः४० बजे नै विपक्षी गठबन्धनका नेताहरू ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए । प्रदेश प्रमुखको कार्यालयबाट भने पौने ३ बजे मात्रै प्रेस विज्ञप्ति जारी गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको सार्वजनिक गरिएको थियो ।

माओवादी सांसद दामाकुमारी शर्माले आफूहरूसँग बहुमत रहेको जानकारी गराउँदा–गराउँदै पनि संविधानविपरीत पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको बताइन् । ‘हामी बहुमतको सरकार बनाउँछौँ, हामीसँग बहुमत छ । ४० जना सांसदको त हस्ताक्षर नै ल्याएका छौँ, केही सांसदहरू आउँदै हुनुहुन्छ भनेर जानकारी गराएका थियौँ,’ शर्माले भनिन्, ‘एक–डेढ घन्टापछि ४२ सांसदको हस्ताक्षर लिएर जाँदा मुख्यमन्त्री नियुक्ति भइसकेको भनियो ।’

आइतबार साँझ मुख्यमन्त्री कार्यालयमा भएको शपथग्रहण समारोह । तस्बिर सौजन्य : शेरबहादुर केसी/मुख्यमन्त्रीको सचिवालय
दिउँसो ४ बजेतिर विपक्षी गठबन्धन ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालय पुगेको थियो । कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई, राजमोका एक र स्वतन्त्र समूहका दुई सांसदको हस्ताक्षर छ ।

विपक्षी गठबन्धनका सांसदहरूले अल्पमतमा रहेका पोखरेलको शपथ नगराउन प्रदेश प्रमुखको कार्यालयमै धर्ना दिएका थिए । तर, राति कडा सुरक्षाबीच प्रदेश प्रमुख यादवले मुख्यमन्त्री कार्यालयमा गएर शपथ गराए । प्रदेश प्रमुख यादव मुख्यमन्त्री कार्यालय जाने क्रममा प्रहरीले धर्नामा बसेका सांसदहरूमाथि बल प्रयोग गरेको थियो ।

तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वली माओवादीतर्फ लागेपछि पाेखरेलकाे पक्षमा ४० सांसद मात्रै रहेका थिए । सूर्य चिह्नबाट चुनाव जितेका नवलपरासीका अजय शाही र कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तवले पनि पोखरेलको साथ छाडेको घोषणा गरे । उनीहरूले गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रूपमा अगाडि सारिएका कुलप्रसाद केसीका पक्षमा हस्ताक्षर गरेका छन् ।

संघीय सरकारमा स्वास्थ्यमन्त्री रहेका हृदयेश त्रिपाठीसँगै उनीहरू सूर्य चिह्नबाट चुनाव लडेका थिए । शाही नवलपरासी पश्चिम १ ‘ख’बाट र श्रीवास्तव कपिलवस्तु २ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनीहरूले आफूलाई स्वतन्त्र समूह बताउने गरेका छन् । दिउँसो कपिलवस्तुका अर्का सांसद दृगनारायण पाण्डेले त सांसद र पार्टीबाट नै राजीनामा दिए । अब प्रदेश सभामा एमालेका ३७ सांसद मात्रै छन् ।

कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले अल्पमतमा परेर पनि सत्ता र शक्तिको दुरुपयोग गरेर मुख्यमन्त्रीको नियुक्त र शपथ भएको बताए । ‘यस किसिमको बलमिच्याइँ निन्दनीय छ । यो त निर्लज्ज काम हो । अब गठबन्धन थप परामर्श गरेर अगाडि बढ्छ,’ उनले भने ।

नवनियुक्त आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले भने एमालेको बहुमतको सरकार गठन भएको दाबी गरे । ‘सरकारका लागि ४१ सांसद आवश्यक पर्छ । त्यो संख्या एमालेसँग रहेको अवस्थामा सरकार गठन भएको छ । पछि राजीनामा दिनेको अर्थ रहँदैन,’ उनले भने ।

धर्नामा बसेका महिला सांसदमाथि प्रहरी हस्तक्षेप

सांसदहरूको धर्नाका कारण कार्यालयमा शपथ खुवाउन सक्ने स्थिति नबनेपछि प्रदेश प्रमुख यादव मुख्यमन्त्री कार्यालय गएका थिए । त्यसक्रममा धर्नामा बसेका सांसदहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो । कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले महिला सांसदमाथि प्रहरीले बुट प्रहार गरेको बताए । कांग्रेस सचेतक निर्मला क्षेत्रीसहितका सांसदहरूमाथि प्रहरीले बुट प्रहार गरेको उनले बताए ।

विमलाले भनिन्– खुसीले माओवादी रोजेकी हुँ

सांसद विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्र रोजेको बताएकी छिन् । आफूलाई अपहरण गरिएको हल्ला चलेपछि दिउँसो उनी पत्रकारमाझ प्रस्तुत भएकी थिइन् । ‘मैले मेरै खुसी र इच्छाले माओवादी रोजेकी हँु । माओवादीबाट धेरै सहयोग भएकाले माओवादी रोजेकी हुँ,’ उनले भनिन् । विमला गत उपनिर्वाचनमा दाङ ३ (ख) बाट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएकी थिइन् ।

विपक्षी गठबन्धनको पक्षमा उभिएका अजय शाहीले मुख्यमन्त्री पोखरेलले जनतासँगको वाचाअनुसार काम नगरेकाले साथ छाडेको बताए । ‘जनतासँग गरेका वाचा पूरा गर्ने अवस्था नै रहेन । हामीले सरकारलाई समर्थन र सहयोग गरे पनि सरकारले जनताका पक्षमा काम गरेन । यस्तो अवस्थामा पोखरेललाई साथ दिन सकेनौँ,’ उनले भने, ‘त्यसैले हामी नयाँ गठबन्धनको पक्षमा उभिएका छौँ । हामी स्वतन्त्र रूपमा चुनाव जितेको र कुनै पार्टीमा नरहेकाले कसैले कारबाही गर्ने भन्ने प्रश्न नै उठ्दैन ।’

हठात् संसद् अन्त्य

कांग्रेस–माओवादी केन्द्रसहितका विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव आइतबारको प्रदेश सभामा पेस गर्ने र सोमबारको बैठकबाट टुंगो लगाउने कार्यसूची थियो । तर, बैठक बस्न नपाउँदै सरकारले संसद् पनि अन्त्य गरिदियो ।

मुख्यमन्त्री पोखरेलले बिहान प्रदेश प्रमुखसमक्ष राजीनामा दिएपछि करिब ९ बजेतिर मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठकले प्रदेश सभा बैठकको औचित्य समाप्त भएको भन्दै संसद् अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबारको बैठकमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले अविश्वासको प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढाउने कार्यसूची थियो । सोमबार मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतदान गर्ने योजना थियो । तर, दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशन १२ बजे नै अन्त्य गरियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको सूचना सार्वजनिक गरियो ।

नयाँ पत्रिका दैनिकबाट……….

प्रतिकृया दिनुहोस्