RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२० गते
८३२ पटक

कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिने भएको हो ।

कर्णालीमा लगानीकर्ता आकर्षित गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । कोभिड–१९ को संक्रमण वृद्धि हुँदै गएका कारण लगानी सम्मेलन चालु आर्थिक वर्षमा नहुने निश्चित जस्तै भएको आयोगका सदस्य योगन्द्र शाहीले बताए । “हामीले मिति र स्थान निर्धार गरिनसकेकाले ठ्याक्कै स्थगित नै त भन्नु परेन” उनले भने, “कोरोनाका कारण केही समय रोकिने चाँही निश्चित भएको छ ।”

कर्णालीमा लगानी भित्र्याउनका लागि गत आर्थिक वर्षदेखि नै प्रदेश सरकारले लगानी सम्मेलन गर्ने योजना बनाएको भए पनि सम्मेलन आयोजना गर्न सकेको छैन । गत पुस महिनामा बसेको योजना आयोगको बैठकले यही वैशाखमा सम्मेलन गर्ने निर्णय गर्दै त्यसको संयोजन गर्ने जिम्मेवारी सदस्य शाहीलाई नै दिएको थियो ।

“जेठसम्ममा भएपनि गर्नुपर्छ की भन्ने थियो’ सदस्य शाहीले भने‘कोभिडको संक्रमण बढीरहेको छ यस्तो अवस्थामा केही समस्य रोक्नुपर्छ की भन्नेमा पुगेका छौँ ।”

उनका अनुसार लगानीका लागि परियोजना बैंकको ड्राफ्ट तयारीको काम अन्तिम चरणमा पुगेको छ । यसबीचमा बाँकी तयारीका कामहरु पूरा गर्ने र स्थिति सामान्य भएमा आउँदो आर्थिक वर्षको साउन÷भदौमा लगानी सम्मेलन गर्ने मनस्थितिमा आफूहरु रहेको शाहीले बताए । “परियोजना बंैकको ड्राफ्ट तयारीको काम लगभग तयार भइसकेको छ” उनले थपे, “बाँकी रहेका तयारीहरु यसबीचमा सक्छौँ अनि स्थिति सामान्य भए साउन भदौसम्ममा सम्मेलन गर्नेकी भन्ने छ ।”

यसबीचमा प्रदेश सरकार परिवर्तनको संघर्ष भएपछि लगानी सम्मेलन पनि केही प्रभावित भएको थियो । आयोगको अध्यक्ष स्वंयम मुख्यमन्त्री भएकाले प्रदेश सरकार परिवर्तनका लागि भएको संघर्षले सम्मेलनको अन्यौलता छाएको थियो । प्रदेशसभाबाट विश्वासको मत लिई मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले नै निरन्तरता पाएपछि भने उनैले अगाडी सारेको लगानी सम्मेलनको योजना कार्यान्वयन हुने विश्वास गरिएको थियो ।

लगानी सम्मेलन नहुनुमा राजनीतिक कारण भने नरहेको आयोगका सदस्य शाहीले दावी गरे । लगानी सम्मेलन गर्न नसकेपनि भर्चुअल माध्यमबाट ‘प्रि–सम्मेलन’ गरिने शाहीले जानकारी दिए । उनका अनुसार प्रि–सम्मेलनमा लगानीकर्ता, सरोकारवालालाई सहभागी बनाइ परियोजनाहरुको बारेमा जानकारी गराइनेछ भने सम्झौता भने सम्मेलनमै हुनेछ ।

विकासका हिसाबले पछाडी परेको कर्णालीलाई लगानीका लागि भने ‘भर्जिन ल्याण्ड’ का रूपमा परिभाषित गरिन्छ । कर्णालीमा लगानी गर्नेलाई प्रदेश सरकारले कर छुट दिने बताउँदै आएको भएपनि ठूला लगानीकर्ता भने हालसम्म आकर्षित हुन सकेका छैनन् ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्