RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२० गते
५९८ पटक

काठमाडौँ — सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा यसबारे सोमबार दिउँसो थप प्रस्ट पारेको हो । आइतबार साँझ मन्त्रिपरिषद् बैठक सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सुनाएका थिए ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाली समयअनुसार, २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यनवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको बताए ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाको प्रमुखसमेत रहेका सहसचिव लामिछानेले हाल नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणाअनुसारको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको बताए ।

‘भारतसँग थप कडाइका साथ सातामा दुई दिन उडान भने हुने छ,’ सहसचिव लामिछानेले भने, ‘अरु देशका लागि हुने उडान भने वैशाख मसान्तसम्मलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको जानकारी आएको छ ।’

उनले हाल देखिएको कोरोना महामारीको चेन ब्रेक गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान धेरै लामो समय बन्द नहुने पनि बताए । ‘यो धेरै लामो समय जाँदैन । त्यसैले तत्काललाई भारतबाहेकका सबै मुलुकमा भइरहेका उडान तत्काल बन्द गर्ने निर्णय भएको हो । अब पहिले जस्तो उद्धार तथा चार्टर उडान पनि हुने छैनन्,’ उनले भने ।

त्यस्तै आन्तरिक उडान सोमबार रातिदेखि बन्द हुने भएका छन् । आन्तरिक रुटमा भने आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिन सकिने मन्त्रालयले जनाएको छ ।

ई कान्तिपुरबाट………….

प्रतिकृया दिनुहोस्