RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२१ गते
८१९ पटक

काठमाडौँ — सरकारले नेपाली सेनामार्फत काठमाडौं उपत्यकामा एक हजार शय्याको अस्थायी संरचनाको अस्पताल बनाउने घोषणा गरेको छ । कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालयप्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सोमबार गरेको सम्बोधनमा शय्या नपाउने समस्या टार्न नेपाली सेनालाई राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइसकेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा एक/एक हजारको दरले होल्डिङ सेन्टर र काठमाडौंमा १ हजार शय्याको अस्पताल बनाउन लागिएको बताए ।

‘प्रदेशमा होल्डिङ सेन्टर र अस्पताल जेमा पनि प्रयोग गर्न सकिने गरी बनाउन लागिएको हो,’ उनले भने । शय्या नपाएर नेपालगन्ज र दाङमा अस्पतालबाहिरै उपचार गराउन थालिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा सरकारले तोकेको कोभिड वार्ड भरिएपछि सर्वसाधारणले महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता छ ।

सरकारी अस्पताल र सरकारले कोभिडका लागि भनेर तोकेको निजी अस्पतालमा बेड पाउन मुस्किल छ । ठूला निजी र मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार गराउन सकिएको छैन । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताललाई कोरोना अस्पतालका रूपमा विस्तार गर्ने घोषणा गरेका छन् ।

त्यस्तै काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई पनि कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका सम्बन्धनप्राप्त चारवटा मेडिकल कलेज छन् ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालका रूपमा र साना अस्पताललाई ननकोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने बताए ।

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्