RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२२ गते
६४९ पटक

भारतमा दिनदिनै कोरोना संक्रमणदरले रेकर्ड बनाइरहेको छ, तर दुई साताअगाडि नै भारतीय नाका र उडान बन्द गर्नुपर्नेमा सरकारले कोरोना संक्रमण नफैलिएका देशमा उडान बन्द गरेर भारततर्फ भने सातामा दुई खुला राखेको छ, जबकि अप्रिलमा मात्रै भारतको उडानबाट १३ हजार २ सय भारतीय भित्रिएका थिए

सरकारले कोरोना संक्रमण बढेसँगै आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान बन्द गर्ने निर्णय गरेको छ । सोअनुसार आन्तरिक उडान मंगलबारबाट बन्द भएका छन् भने अन्तर्राष्ट्रियतर्फका उडान २३ गते राति १२ बजेबाट बन्द हुँदै छ ।

मन्त्रिपरिषद् बैठकको एउटा निर्णय भने अनौठो देखिएको छ । दैनिक लाखौँ नयाँ संक्रमितहरू थप भइरहेको भारततर्फ भने सातामा दुई उडान गर्ने निर्णय गरेको छ । सुरुमै बन्द गर्नुपर्ने उडान निरन्तर भइरहँदा काठमाडौंमा पनि त्यसको असर परेको छ । सयाैँ भारतीयहरू नेपालको बाटो भएर साउदीतर्फ जाँदा काठमाडौंका केही होटेलहरूले राम्र्रै व्यवसाय गरे तापनि कोरोना संक्रमण फैलाउन सोही रुटले सजिलो बनाएको छ ।

सरकारले गरेको हवाई उडानसम्बन्धी ५ वटा निर्णयमध्ये तेस्रो नम्बरको निर्णयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल–भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने निर्णय गरेको छ । पर्यटन व्यवसायीदेखि एयरलाइन्स क्षेत्र पनि भारतको उडान पूर्ण रूपमा बन्द गरेर दुबई, साउदीलगायत देशमा भने उडान गर्नुपर्ने पक्षमा थिए ।

नेपालमा चलेको राजनीतिक उतारचढावमा धेरै भिआइपीहरूलाई आउन सहज बनाउने गरी भारतीय उडान निरन्तरता दिइएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । पर्यटन मन्त्रालय पनि भारतको उडान दुई साताअगाडि नै बन्द गरेर मलेसिया, कतार, दुबईलगायत देशमा भने उडान सुचारु गर्ने पक्षमा रहेका थिए ।
भारतसँगको एउटा ढोका खुला राख्दा भोलि अत्यावश्यक पर्दा सहयोग लिनका लागि सरकारले सोचेर दुईवटा उडान, क्वारेन्टिन र पिसिआरलाई कडाइ गर्ने गरी दुई उडान खोलेको हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘सबै ढोका बन्द गर्दा फेरि खोल्नुपरेमा, कुनै सहयोग तुरुन्तै लिनुपरेमा सहज हुन्छ भन्ने बुझाइ होला,’ पोखरेलले भने ।

२ लाख ६५ हजार विदेशी तथा नेपाली भित्रिए
विश्वका विभिन्न देशबाट नेपाल आउने विदेशी तथा नेपाली नागरिकको संख्या २ लाख ६५ हजार ८ सय ६९ जना रहेका छन् । जसमा अप्रिलमा ८० हजार ८ सय ९९, मार्चमा ७१ हजार २ सय ७०, फेब्रुअरीमा ५७ हजार ५ सय ५९ र जनवरीमा ५६ हजार १ सय ४१ जना रहेको विभागले जनाएको छ ।

निषेधाज्ञाको ५ दिनमै उडानमार्फत २० हजारले उपत्यका छाडे
५ दिनसम्मको निषेधाज्ञामा सञ्चालन भएको आन्तरिक हवाई उडानबाट २० हजार ३ सय ६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । जसमा १६ गते पहिलो दिन ५ हजार ४ सय ५३ जना, १७ गते ४ हजार, १८ गते ३ हजार ९ सय ३७, १९ गते ३ हजार ९ सय ३४ र २० गते २ हजार ८ सय ९९ जनाले आन्तरिक उडानमार्फत काठमाडौं छाडेका हुन् । यसैगरी, निषेधाज्ञाको ५ दिनमै १३ हजार ६ सय ६१ जना आन्तरिक हवाईमार्ग हुँदै देशका विभिन्न ठाउँबाट काठमाडौं प्रवेश गरेका हुन् ।

अप्रिलमा भारतबाट ७० प्रतिशत भारतीय पर्यटक
अप्रिल महिनामा विदेशबाट २२ हजार ४ सय ५० पर्यटक भित्रिँदा भारतबाट मात्रै १३ हजार २ सय २ भारतीयहरू नेपाल भित्रिएका छन् । जुन ७० प्रतिशत पर्यटक भारतीय रहेको अध्यागमनको तथ्यांकमा रहेको छ । अप्रिल महिनामा अमेरिकाबाट २ हजार ७ सय ४०, चीनबाट ८ सय ३, रुसबाट ६ सय ८५, बेलायतबाट ५ सय ४०, युक्रेनबाट ३ सय १३, जर्मनीबाट २ सय १९ लगायत छन् । चार महिनामा नेपाल भ्रमणमा आउने विदेशी नागरिकको संख्या ५५ हजार ४ सय ४७ रहेको छ । मार्चमा १४ हजार ९ सय ७७, फेब्रुअरीमा ९ हजार १ सय ४६ र जनवरीमा ८ हजार ८ सय ७४ जना विदेशी नागरिक नेपाल भित्रिएको विभागले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्