RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२२ गते
५९३ पटक

निजी क्षेत्रका विभिन्न संघ संस्थाले कर बुझाउने समय थप गर्न सरकारसँग माग गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमश तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंलगायत विभिन्न उद्योगी तथा व्यवसायी संघ संगठनले व्यवसाय तथा कार्यालयहरू बन्द भएकाले कर तिर्ने समय थप गर्न माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भू–भागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टीलगायतका करको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन महासंघले अनुरोध गरेको हो ।

कोभिड महामारिकाकारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासंघले आग्रह गरेको जनाएको छ ।

यस्तै, नेपाल उद्योग परिसंघले पनि सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ । महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग माग गरेको छ ।

परिसंघले निषेधाज्ञाबाट उद्योग व्यवसाय क्षेत्रमा पर्दै गएको प्रत्यक्ष प्रभाव र आगामी दिनमा पर्न सक्ने असरका बारेमा पनि सरकारले समीक्षा गर्नुपर्ने जनाएको छ । परिसंघले निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसायहरु सञ्चालन गर्नु पाउनु पर्ने तथा सबै उद्योग परिसरभित्र व्यवस्थित आवास तथा क्वारेन्टाइनको व्यवस्था गर्न पर्याप्त स्थान नहुने भएकाले उद्योगले सञ्चालन गरेको सवारीसाधनमा कर्मचारी तथा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी आवतजावतको लागि पासको व्यवस्था गरी सहज आवतजावतको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

परिसंघले कोभिडको महामारीमा अत्यधिक माग देखिएको औषधि एवं स्वास्थ्य उपकरण र अक्सिजनको सिलिण्डर सरकार आफैंले तत्काल आयात गर्न माग गरेको छ । सरकार आफैंले आयात गर्न नसक्ने भए निजी क्षेत्रलाई भन्सार महशुल र पारवाहन शुल्क छुट गरी आयतको लागि प्रोत्साहित गर्नुपर्ने परिसंघको माग छ ।

खोप खरिद प्रक्रियालाई तीव्रता दिन र तुरुन्त खोप लगाउने काम थाल्न पनि परिसंघले माग गरेको छ । विभिन्न देशबाट खोप आयात गर्न निजी क्षेत्रलाई समेत संलग्न गराई फास्ट ट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा देशभर अगाडि बढाउन परिसंघले माग गरेको छ ।

सरकारसँग समन्वय गरी होटलहरुलाई कोभिड केयर सेन्टर तथा अस्पतालको रुपमा अगाडि बढाउन परिसंघ तयार रहेको र यसको लागि सरकारसँग आवश्यक छलफल गरी अगाडि बढ्ने परिसंघले जनाएको छ ।

त्यसैगरी संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको स्मरण गराउँदै नेपाल चेम्बरले पनि उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका तथा व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको कारण कर तिर्ने समय थप गर्न माग गरेको छ ।

सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि चेम्बरले अनुरोध गरेको छ ।

यस्तै, निषेधाज्ञा जारी भई पूर्णरूपमा उद्योग व्यापार बन्द रहेको अवस्था तथा स्वयम उद्योगी व्यवसायीहरु एवं कर्मचारीहरु समेत सक्रमणबाट सुरक्षित रहन निषेधाज्ञाको पालना गर्दै घर घरमै बस्दै गरेको परिस्थितिमा मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको मास्केवारी तथा कर राजस्व दाखिला गर्न असहज र असुरक्षित भएको चेम्बरको भनाइ छ ।

कारोबार दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्