नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताएको छ ।
कोभिड–१९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु राखेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष श्याम गिरीले महासंघको विभिन्न तहमा ११९ जना उद्यमी संक्रमित रहेको बताए । उनले १५ जना व्यवसायीको कोरोनाले मृत्यु भएकोसमेत बताए ।
कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजस्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दुःखद कुरा भएको अध्यक्ष गिरीले बताए । “अहिले सवै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा छैनौं” उनले भने, “सरकारले कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउनुपर्छ ।”
यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत बिर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको उनेल बताए ।
नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको पुर्नकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदालाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुर्नकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागु हुने अवस्था नरहेको अध्यक्ष गिरीको भनाइ छ ।
कारोबार दैनिकबाट………..