RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२४ गते
४६० पटक

कृत्रिम अभाव देखाएर व्यवसायीले खाद्यान्नमा मूल्यवृद्धि गराएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत बिहीबारदेखि निषेधाज्ञा गरेसँगै बजारमा सामानको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेका हुन् ।

एक साताको अवधिमा बजारमा खाने तेल, चिनी, दाल, चामल, गेडागडीको मूल्य बढेको छ । बजारमा पर्याप्त खाद्यान्नको मौज्दात हुँदाहुँदै व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको हो । निजी क्षेत्रका व्यवसायीले निषेधाज्ञा हुनुअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका थिए ।

त्यसलगत्तै बजारमा सामानको मूल्य बढ्न थालेको हो । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले व्यवसायीले कृत्रिम अभाव गराएर खाद्यान्नमा अस्वाभाविक मूल्य बढाएको बताए । खाद्यान्नको मौज्दात पर्याप्त हुँदाहुँदै पनि खाने तेल र चिनीमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई पर्न गएको उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चिनी, दाल, तेल, चामल, गेडागुडीमा मूल्य बढेर आएको जानकारी दिए । “नयाँ सामानको मूल्य बढेर आएको छ,” उनले भने, “होलसेल पसलले मूल्य बढाएकाले खुद्रा पसलमा पनि मूल्य बढ्न गएको छ ।”
संघका अनुसार खाने तेलको खुद्रा मूल्य २ सय २० देखि २ सय ४० रुपैयाँ रहेकोमा ३० देखि ४० रुपैयाँले बढेर २ सय ७५ देखि २ सय ८० रुपैयाँ पुगेको छ ।

अहिले उपभोक्ताले एक लिटरको एक प्याकेट सनफ्लावर तेल किन्नका लागि २ सय ८० रुपैयाँ खर्च गर्नुपर्छ । भटमासको तेल किन्न २ सय ७५ रुपैयाँ र तोरीको तेल किन्न ३ सय रुपैयाँ खर्च गर्नुपर्ने भइसकेको छ । “पछिल्लो समय तेलको मूल्य अचाक्ली बढेको छ,” उनले भने, “खाने तेलमा पनि सबैभन्दा बढी मूल्यवृद्धि भटमासको तेलको भएको छ ।” १ वर्षको अवधिमा प्रतिलिटर तेल १ सय रुपैयाँले वृद्धि भइसकेको छ ।

गत वर्षसम्म सनफ्लावर र भटमासको तेल १ सय ५५ देखि १७० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले मूल्य अकासिएको छ ।
संघका अनुसार प्रतिलिटर सनफ्लावर तेलको मूल्य २ सय ४० रुपैयाँ छ भने भटमासको तेलको मूल्य २ सय २० रुपैयाँ छ । अहिले दुवै तेलको मूल्य बढेर १ सय ७० देखि १ सय ८० रुपैयाँसम्म पुगेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताए । “तेल र चिनीमा मूल्य बढेकोबारे व्यवसायीसँग जानकारी मागेको उनले जानकारी दिए । नियमित रूपमा बजार अनुगमन गरिरहेका छौं,” उनले भने, “कृत्रिम अभाव गराएर मूल्य बढाउने व्यवसायीलाई कारबाही गर्छौ।”

आम सर्वसाधारणले खाने भनेको भटमास तथा सनफ्लावरको तेल हो । अत्यधिक मूल्यवृद्धि भएका कारण आमउपभोक्ता यो महामारीमा अझ मारमा परेका छन् । यस्तै गेडागुडीमा प्रतिकेजीमा १० प्रतिशत मूल्य बढेको छ । मास, मसुरो, रहर दाल प्रतिकेजीमा १० रुपैयाँ बढेको छ । चिनी प्रतिकिलोमा ५ रुपैयाँ मूल्य बढेको छ । यसअघि प्रतिकिलो ८० रुपैयाँ रहेको चिनीको मूल्य बढेर ८५ रुपैयाँ पुगेको छ । चामल प्रतिकेजी २ देखि ५ सय मूल्य बढेको छ ।

कारोबार दैनिकबाट………………….

प्रतिकृया दिनुहोस्