RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२५ गते
९६२ पटक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।

आईसीयू-भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ ।

वैशाखमा ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुपात छ । असारसम्म ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिन्डर खपत (४६ लिटर साइज) खपत हुने अनुमान छ ।

यसैबीच, आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ ।

मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । १० लिटर प्रतिमिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिन्छ ।

मन्त्रालयले मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ समेत जारी गरेको छ । जसमा एचडीयूमा राख्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख छ । आठ लिटर प्रतिमिनेटका दरले दैनिक १२ हजार लिटर अक्सिजन चाहिने मन्त्रालय बताउँछ ।

त्यस्तै, अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

मेडिकल अक्सिजन आवश्यकता दर औंल्याउँदा १० बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा प्रतिदिन १ लाख ४० हजार ४ सय लिटर अक्सिजन र २१ सिलिन्डर आवश्यक पर्छ । ५० बिरामीलाई एचडीयूमा उपचार गर्दा प्रतिदिन ५ लाख ९७ हजार ६ सय लिटर अक्सिजन र ८८ सिलिन्डर आवश्यक पर्छ ।

कोभिड–१९ उपचारका लागि तोकिएका अस्पतालले बेड संख्याका आधारमा कम्तीमा सात दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने मापदण्ड बनाइएको छ ।

९ हजार १ सय ९६ मा संक्रमण, ५० को मृत्यु
देशभर शुक्रबार थप ९ हजार १ सय ९६ मा कोरोना संक्रमण देखियो । गत २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार १ सय ९६ जना संक्रमित पुष्टि भएका हुन् ।

सक्रिय संक्रमित संख्या ७८ हजार ६ सय २९ पुगेको छ । हाल, ३ सय ८० संक्रमित क्वारेन्टाइनमा छन् । २४ घण्टामा २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन् । शुक्रबारै ५० जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंका ३ हजार ८९ छन् ।

ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

राजधानी दैनिकबाट……….

प्रतिकृया दिनुहोस्