RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२९ गते
९६६ पटक

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले ‘विपक्षमा रहेका सबै शक्तिबीच गठबन्धन बनाएर सरकारको नेतृत्वमा अघि बढ्ने’ निर्णय गरेको छ । यसका लागि माओवादी, जसपा र नेकपा एमालेका माधव नेपाल तथा झलनाथ खनाल समूहसँग गठबन्धन प्रयास गर्ने निर्णय भएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत लिन ‘असफल’ भएपछि कांग्रेसले आफू नेतृत्वमा सरकार गठन पहल थालेको र विपक्षमा रहेका सबै शक्ति एक ठाउँ ल्याउने कोशिस भइरहेको छ ।

‘सबै विपक्षी एक ठाउँ ल्याउने र सरकार गठन गर्ने प्रयास भइरहेको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने, ‘कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेभित्रको माधव–झलनाथ समूहसँग पनि गठबन्धन प्रयास गर्ने बैठकको निर्णय हो, सबैसँग छलफल हुन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिस गर्ने निर्णय गरेको महतले जानकारी दिए । राष्ट्रपति भण्डारीले सोमबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई संविधानको धारा ७६ (२) अनुसार आउन तीन दिनको समय दिएकी छन् ।

कांग्रेसले आफू नेतृत्वमा सरकार बनाउन सबैभन्दा भरपर्दो वातावरण माओवादी केन्द्रबाट पाएको छ । सकेसम्म सिंगो जसपालाई पनि गठबन्धनमा ल्याउने कोशिस भइरहेको कांग्रेसले जनाएको छ । माधव–झलनाथ समूहसमेत फकाउने प्रयास जारी छ ।

‘विपक्षमा रहेका दलसँग छलफल हुन्छ, माओवादीले प्रस्ट भनिसकेको छ, जसपाको एउटा समूह पनि प्रस्ट छ,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘सिंगो जसपा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा आउँछ, विकल्पमा अर्को तरिका पनि छ ।’

बैठकमा सभापति देउवाले सरकारका लागि भइरहेको गठबन्धन प्रयास र छलफलबारे ‘ब्रिफिङ’ गरेका छन् । बैठकअघि उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि उनी कामचलाउ सरकारको हैसियतमा छन् ।

देउवा–प्रचण्ड एक घण्टा छलफल

नयाँ राजनीतिक कोर्समा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे कांग्रेस सभापति देउवा र माओवादी केन्द्र प्रचण्डबीच १ घण्टा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्था विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

छलफलक्रममा विपक्षी गठबन्धनका सबै दलबीच सरकार गठनबारे कुराकानी गर्ने सहमति भएको स्रोतले बतायो । माओवादी केन्द्रले भने कांग्रेस नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाइसकेको छ । कांग्रेसले पनि आन्तरिक तयारी तीव्र पारेको छ । तर, जसपाको साथबिना सरकार बन्ने अवस्था देखिएको छैन ।

यही विषयमा दुई नेताबीच ‘रणनीति’ बनाएर अघि बढ्ने र यसका लागि सक्रिय हुने सहमति भएको छ । देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी निरन्तर संवाद जारी राखेको बुझिएको छ ।

राजधानी दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्