RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/५ गते
९८१ पटक

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,’ ओलीले आज जारी गरेको अपीलमा भनेका छन्, ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ।

तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ ।

‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ?

पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी कल्पना बारिहको विषय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पनाबाहिरको कुरा हो ।

प्रतिकृया दिनुहोस्