
काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीको पीसीआर परीक्षण गरेको छ भने संक्रमित मतदाताको बुथमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पीपीई लगाएर राखिनेछ ।
प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिबद्ध र क्रियाशील रहेको भन्दै सबै तयारी पूरा भइसकेको जानकारी बुधबार साँझ दिएका छन् ।
श्रेष्ठका अनुसार उपनिर्वाचनमा बाग्मती प्रदेश सभा सदस्य १ सय १० र बाग्मती प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता रहने छन् । मतदान हेटौंडा उपमहानगर–४ स्थित भुटनदेवी माविमा हुनेछ ।
बाग्मतीमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
बाग्मतीतर्फ सत्तारूढ एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री थापले सूर्य, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट उम्मेदवार बनेका देवकोटाले कलम र नेमकिपा उम्मेदवार तामाङले मादल चिह्न पाएका छन् ।
मुख्य निर्वाचन अधिकृत मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतदानमा सहभागी सबैलाई पीसीआर परीक्षण रिपोर्टसमेत अनिवार्य गरिएको जानकारी दिए ।