RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/९ गते
१२९९ पटक

काठमाडौं । कोभिड–१९ दोस्रो लहरविरुद्ध संघर्षरत नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट राहत आउनेक्रम बढेको छ । नेपालमा कोरोना संक्रमण दोस्रो लहरपछि अति आवश्यक स्वास्थ्य सामग्री अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोग र दूतावासमार्फत सम्बन्धित मुलुकको अवस्था हेर सहयोग गर्न आग्रह गरेको थियो ।

गत २३ वैशाखमा नै परराष्ट्रले सबै ठाउँमा पत्राचार गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बेलायती अनलाइन पत्रिका ‘दि गार्जिन’मार्फत विश्व समुदायमा अपिल गरेका थिए ।

कोभिडसँगै अक्सिजन अभावका कारण दैनिक मृत्युदर बढेपछि नेपालको सबै भन्दा पुरानो कूटनीति सम्बन्ध भएको मुलुक बेलायतले २० लाख डोज डआस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ ।

बेलायतले नेपाललाई अहिले खोप आवश्यकता परेको भन्दै खोप उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत खोप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको छ । केही दिनअघि प्रधानमन्त्री ओलीले बेलायती राजदूत निकोल पोलिटसँग कोरोनाविरुद्धको खोपबारे छलफल गरेका थिए । नेपाललाई उपलब्ध गराउने खोप विषयमा त्यहाँको उपल्लो सदनमा बहस भएसँगै निर्णयमा पुगिसकेको छ ।

अमेरिकाद्वारा सहयोग

अमेरिकी सरकारले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्री ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र आइपुग्ने मन्त्रालयले जनाएको छ । शनिबार ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेससिल्डलगायत छन् ।

यसैगरी, सयवटा भेन्टिलेटर र १ हजार अक्सिजन सिलिन्डर रहेका छन् । ती सामग्री आज आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

अस्ट्रेलियाबाट ६३ करोड ५० लाख

अस्ट्रेलियाले नेपाललाई कोभिड महामारीविरुद्ध लड्न ७० लाख अस्ट्रेलियन डलर (करिब ६३ करोड ५० लाख) सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सहयोग घोषणा गर्दै नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसोटी वोल्कलले कोभिड–१९ विरुद्ध सहयोग गर्न लागेको जानकारी दिएकी छन् । यो सहयोग दक्षिण एसिया सबलीकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अस्ट्रेलियाले प्रदान गर्ने १ करोड ७५ लाख अस्ट्रेलियन डलरमध्येको हो ।

सो सहयोग प्रादेशिक अस्पतालमा स्वास्थ्य र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री खरिदमा उपयोग गरिनेछ । सहयोग रकम समुदायस्तरमा सक्रिय अमेरिकी, जापानी, बेलायती दातृ निकाय र संयुक्त राष्ट्रसंघीय निकायले गरिरहेको कामसँग समन्वय गरेर दिइने जनाइएको छ ।

स्वीटजरल्यान्डबाट पनि सामग्री

स्वीटजरल्यान्डले नेपाललाई ३० टन मेडिकल सामग्री पठाएको छ । ११ लाख एन्टिजेन्ट टेस्ट, ४० वटा श्वासयन्त्र, १० वटा अक्सिजन कन्सेन्ट्रेटर र पीपीईलगायत सामग्री काठमाडौं आइपुगेको छ ।

गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्विस राजदूत क्यापिलरले जानकारी दिइन् । चार्टर्ड फ्लाइट खर्चसमेत स्विस सरकारले बेहोर्नेछ ।

चीनबाट ३० हजार लिटर अक्सिजन

शनिबार मात्रै चीनबाट ३० हजार लिटर लिक्विड अक्सिजन आइपुगेको नेपालका लागि चीनको राजदूत हाउ याङकीले जानकारी दिएकी छन् । नेपाल–चीन सीमा तातोपानीमा आइपुगेको अक्सिजन लिक्विड नेपाललाई हस्तान्तरण गरिँदै छ ।

८ हजार ८ सय ४८ संक्रमणमुक्त

यसैबीच, देशभर शनिबार थप साढे ८ हजार कोरोना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ संक्रमणमुक्त भएका हुन् । योस“गै संक्रमणमुक्त संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

शनिबार थप १ सय २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । देशभर ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पीसीआर र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । शनिबार देशभर ८ हजार ८ सय ४८ संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना क्वारेन्टाइनमा छन् ।

राजधानी दैनिकबाट………..

प्रतिकृया दिनुहोस्