३० हजार लिटर विषाक्त स्यानिटाइजर बरामद, बजारमा गइसकेका ‘प्लस ७५’ नामक स्यानिटाइजर नियन्त्रणमा लिन निर्देशन
‘बजारमा विषाक्त स्यानिटाइजर रहेको’ सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले निगरानीका लागि ‘इन्टेलिजेन्स’ परिचालन गरे । टोली ‘मुभ’ भयो । भएजति सबै स्यानिटाइजरका नमुना खरिद गरिए । लगेर औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षण गरियो । लिइएका नमुनामध्ये ‘प्लस ७५’ ब्रान्डको स्यानिटाइजमा २४ प्रतिशत ‘मेथानल’ रहेको प्रमाणित भयो । जुन ‘एसेटिक एसिड’ हो । मानिसका लागि यो विषसमान हुन्छ ।
‘मेथानल’ विष भएको प्रमाणित भएपछि महाशाखाको ‘इन्टेलिजेन्स’ टोली ‘प्लस ७५’को कारखाना खोज्न लाग्यो । यसक्रममा त्रिपुरेश्वरस्थित ‘प्लस ७५’ नामको स्यानिटाइजर बेच्ने होलसेल बिक्री केन्द्र फेला पर्यो । ‘लाइफ लाइन’ नामको बिक्री केन्द्रका अधिकारीसँग सोधपुछपछि ललितपुरको इमाडोलमा स्यानिटाइजर उत्पादन गर्ने उद्योग नै रहेको खुल्यो ।
प्रहरी टोली आइतबार उद्योगमा छापा मार्न पुग्दा बन्द घरभित्र विषाक्त स्यानिटाइजर उत्पादनमा व्यस्त ५० भन्दा धेरै मजदुर फेला परेपछि चकित परेको थियो । ‘यहाँ यति ठूलो उद्योग नै चलेको रहेछ । यतिसम्म होला भन्ने त सोच्नै सकेको थिइनँ,’ छापा मार्न पुगेका महाशाखा प्रमुख एसएसपी खापुङले भने । उनका अनुसार औषधि व्यवस्था विभागको प्रशोगशालामा विष हो भन्ने प्रमाणित भएपछि मात्रै प्रहरीले कारखानामा छापा मारेको हो ।
कारखानाबाट उत्पादित सबै स्यानिटाइजरमा ‘मेथानल’ नामक एसिड भेटिएको एसएसपी खापुङले बताए । ‘यहाँ ड्रम र ग्यालिनमा धेरै स्यानिटाइजर बरामद भएका छन् । यी सबैमा मेथानल नामको एसिड छ, जुन विष हो । मानिसको शरीरलाई यसले ठूलो हानि पुर्याउँछ । कानुनी दृष्टिबाट यो गम्भीर अपराध हो । त्यसो हुँदा हामीले यहाँ छापा मारेका हौँ । दोषीलाई कानुनअनुसार कडा कारबाही हुन्छ,’ उनले भने ।
नयाँ पत्रिका दैनिकबाट…………….