RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१२ गते
१७९२ पटक

कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् । ती देशले निर्माण क्षेत्रमा बढी कामदार लैजान माग पेस गरेका हु्न् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान, साइप्रस, रोमानियास्थित रोजगारदाताले नेपाली कामदारको माग गरेका हुन ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको हो ।

कतारका लागि नेपाली राजदूत नारद भारद्धाजले विश्वकप फुटबलको समय नजिकिदै आइरहेकाले कतारले आफूकहाँ निर्माणाधीन आयोजनाहरुलाई छिटो सम्पन्न गर्नतर्फ ध्यान दिएकाले कामदारको माग बढेको बताउनु भयो

कतारले गत मार्चको २२ देखि कामदारको न्युनतम तलब एक हजार रियाललाई कार्यान्वयनमा ल्याएको छ । राजदूत भारद्धाजले कतारसँगको हवाई उडानलाई पनि निरन्तरता दिनको लागि सरकारलाई अनुरोध गरेको बताउनु भयो ।

खाडी क्षेत्रमा यूएई र कुवेतले मात्रै नेपालबाट आउने उडानलाई रोकेका छन् । कतार, साउदी, बहराइन, ओमान, साइप्रस लगायत देशले भने नेपाली कामदार आउन प्रतिबन्ध लगाएका छैनन् । बरु साउदीले भारतबाट आउने उडान रोकेपछि नेपालको हवाइ उडान प्रयोग गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्