RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१३ गते
१५५९ पटक

काठमाडौँ — मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएकामा यही अवधिमा ६ हजार ७ सय १६ जना निको भएका छन् ।

संक्रमितभन्दा निको हुनेको संख्या बढ्दो देखिनु राम्रो संकेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैले निरन्तर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरिरहे मात्र संक्रमण घट्ने पनि स्पष्ट पारेको छ । संक्रमण दर पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । संक्रमण दर बुधबार ३४.६९ प्रतिशत रहेको छ भने अघिल्लो दिन ३७.६५ प्रतिशत थियो ।

पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । मंगलबार कुल सक्रिय संक्रमित १ लाख १७ हजार २ सय ६१ थिए भने बुधबार यो संख्या १ लाख १७ हजार ७७ मा झरेको छ ।

केस फ्याटलिटी रेट (सीएफआर) भने पहिलो

लहरको तुलनामा दोस्रो लहरमा दोब्बरभन्दा बढी देखिएको छ । निश्चित अवधिमा कुनै रोग निदान भएकाको संख्या र उक्त रोगबाट मृत्यु हुनेको संख्याको अनुपातलाई सीएफआर भनिन्छ । पहिलो लहरमा सीएफआर १.१० प्रतिशत रहेकामा दोस्रो लहरमा २.६५ प्रतिशत छ ।

पहिलो लहरको दाँजोमा दोस्रो लहरमा मृत्युको प्रतिशतमा समेत वृद्घि देखिएको छ । यसअघि कुल संक्रमितमध्ये १.१० प्रतिशतको मृत्यु भएकामा यस पटक उक्त संख्या १.४७ प्रतिशत छ । समग्रमा मृत्युदर १.२८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

‘पछिल्लो दुई सातामा सर्वाधिक २५९३ जनाको मृत्यु भएको छ । यसले पनि पहिलेको दाँजोमा सीएफआर बढी देखिएको हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

उनका अनुसार पहिलो लहरमा संक्रमण दर (पोजिटिभिटी रेट) १२.५५ प्रतिशत रहेकामा दोस्रो लहरमा झन्डै तेब्बर अर्थात् ३३.०७ प्रतिशत रेकर्ड भएको छ । वैशाख १ यताका ४३ दिनमा प्रयोगशालामा प्रमाणित भएका आधारमा कोरोनाका कारण ३ हजार ७ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । महामारी सुरु भएयता गत चैत मसान्तसम्म यो संख्या ३ हजार ५८ थियो । चैतको अन्तिम सात दिनमा २२ जनाको मृत्यु भएको थियो । वैशाख सुरु भएयता यो संख्या तीव्र गतिमा उकालो लागेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार दोस्रो लहरमा मृत्यु हुनेमा सक्रिय उमेर समूहका व्यक्तिको संख्या धेरै छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो साप्ताहिक सूचनाअनुसार दक्षिण र पूर्व एसियामा २० लाखभन्दा बढी नयाँ संक्रमित र र ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जसअनुसार यो क्षेत्रमा संक्रमित थपिनेको संख्यामा २१ प्रतिशतले कमी भएको छ भने मृत्युदर ४ प्रतिशतले बढेको छ ।

डब्लूएचओका अनुसार पछिल्लो साता नेपालमा ५७ हजार ९ सय ३९ संक्रमित थपिएका छन् । हाल नेपालमा प्रतिएक लाख जनसंख्यामा १९८.९ जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो साताभन्दा ६ प्रतिशतले कमी हो । तर यही अवधिमा १ हजार २ सय ९७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा प्रतिएक लाखमा ४.५ जनाको मृत्यु भइरहेको उल्लेख गर्दै डब्लूएचओले यो संख्या ६ प्रतिशतले वृद्घि भएको जनाएको छ ।

कान्तिपुर दैनिकबाट………..

प्रतिकृया दिनुहोस्