
झण्डै १७ लाख जनसंख्या रहेकाे कर्णालीका दशवटै जिल्लामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। जसमा सबैभन्दा धेरै सुर्खेतमा संक्रमणकाे दर उच्च रहेकाे छ ।
तर, पछिल्लाे समय कर्णालीका गाउँ बस्तीमा समेत काेराेनाका बिरामी देखिन थालेका छन् । रोजगारीका सिलसिलामा भारत गएकाहरु भारतमा काेराेनाकाे भयावह स्थिति भएपछि गाउँघर फर्किएका छन् ।
उनीहरुकाे सीमानाकामा तथा सम्बन्धित पालिकाले परिक्षण नगर्दा गाउँमा समेत काेराेनाका बिरामी बढेको हो । यतिबेला कर्णालीको मध्यपहाडी क्षेत्रमा मकै लगाउने सिजन सुरु भएकाे छ ।
याे समयमा किसानहरू खेतबारीमा व्यस्त छन् । तर, अत्यावश्यक स्वास्थ्य मापदण्ड नअपनाइँदा संक्रमण बढेको हुन सक्ने जनस्वास्थ्यविद्ले आँकलन गरेका छन् ।
कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुमा पनि कोरोना संक्रमण तिब्र देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डोल्पामा ६० जना, हुम्ला ७५ जना, मुगुमा ४६ जना र जुम्लामा ६३२ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै हालसम्म सुर्खेतमा ५०९७ (सबैभन्दा धेरै) जना, दैलेख २४४५ जना, सल्यानमा १४५९ जना, जाजरकोटमा ६१५ जना, कालिकोटमा ५४८ जना, रुकुमपश्चिमका ५५५ जना र अन्य जिल्लाका ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णालीमा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा बढी युवा उमेर समुहका रहेका छन् । २१ वर्षदेखि ३० वर्ष उमेर समूहका ३६ प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत, ४१ देखि ५१ वर्ष उमेर समूहका १२ प्रतिशत, ५१ वर्षदेखि ६० वर्ष उमेर समूह ६ प्रतिशत, ६१ वर्षदेखि ७० वर्षमाथि उमेर समूहका ३ प्रतिशत र ० देखि १० वर्ष उमेर समूहका ४ प्रतिशतमा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए। त्यस्तै, लैङ्गिक हिसाव ६५ प्रतिशतमा पुरुष र ३५ प्रतिशत महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै कर्णालीमा कोरोना संक्रमणबाट २१७ जनाकाे मृत्यु भइसकेकाे छ । डोल्पामा ५ जना, जुम्लामा ३ जना, सुर्खेतमा १३६ जना, दैलेख १७ जना, सल्यानमा ३७ जना, जाजरकोटमा २ जना, कालिकोटमा ३ जना, रुकुमपश्चिमका २० जना र अन्य जिल्लाका ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा पहिलोभन्दा दाेस्राे चरणमा धेरै रहेका छन् ।