RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१७ गते
४१९ पटक

यसबारे उनले नेकपा एमालेको मुखपत्र नवयुगमा खुलासा गरेका छन् । प्रस्तुत छ, किरण भट्टराईले बादलसँग नवयुगका लागि गरेको अन्तर्वार्ता नेपाल टकमा 

० तीन वर्ष पहिले भएको पार्टी एकता एउटा ऐतिहासिक परिघटना थियो । तर एकीकरणलगत्तै समस्याहरू देखा परे र झन बल्झिदै गए । पार्टीलाई विभाजनमा जान नदिन तपाईं स्वयम् पनि क्रियाशील हुनुहुन्थ्यो । तर एकता जोगिन सकेन । विभाजनको मुख्य कारण र कारक केलाई ठान्नुहुन्छ ?
निश्चय पनि तीन वर्षपहिले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको एकीकरण नेपालको राजनीतिक परिदृश्यमा एउटा असाधारण परिघटना थियो । यो परिघटनाले एकातिर जनतामा खुसी र उत्साहको सञ्चार गर्‍यो भने अर्कोतिर प्रतिक्रियावादी कित्तामा चिन्ता र आक्रोश पनि पैदा गर्‍यो । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति आधारभूतरूपमा सम्पन्न भएपछि समाजवादको आधार निर्माण गर्न यो ऐतिहासिक आवश्यकता उत्पन्न भएको थियो । यो नेपाली जनता, पार्टी कार्यकर्ता तथा मित्रहरूको चाहना पनि थियो ।

एकता त भयो । तर, त्यो तीन वर्ष पनि टिक्न सकेन, टिक्न दिइएन । शिशु अवस्थामा नै त्यसको असामयिक मृत्यु भयो । वस्तुतः निर्मम हत्या गरियो । यो दुःखान्त अप्रत्यासित थिएन । यसको पूर्वानुमान गरिएकै थियो । किनभने, यो एकतालाई हामीले असाधारण चुनौती र जोखिमको रूपमा पनि स्वीकार गरेका थियौं ।

यो फुटको पोस्टमार्टम गरेर हेर्दा हामी यसका दुईवटा कारण तथा कारक तथ्यहरू देख्न सक्छौं । पहिलो र मुख्य आन्तरिक कारण, स्वयम् एकीकृत पार्टीमै अन्तर्निहित थियो । साबिक एमालेमा संस्थागत भएको गुटगत प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड माधवकुमार नेपालले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ ।

साबिक माओवादीभित्र संस्थागत भएको गुटवादी प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ । ऐतिहासिक तथ्यहरूले के पुष्टि गर्दछन् भने दुवै प्रतिनिधि पात्रहरूले दशकौंदेखि सत्ता र नेतृत्वमा आफ्नो हालीमुहाली र एकाधिकार कायम गर्दै आएका थिए ।

तीन वर्षका घटनाक्रमहरूले अकाट्य रूपमा के स्पष्ट गर्छन् भने उनीहरूले यो एकता समाजवादको निर्माणका निम्ति होइन अपितु नेतृत्व र सत्तामा आफ्नो एकाधिकार पुनःस्थापना गर्न गरेका थिए । त्यो अभिष्ट पूरा नभएपछि उनीहरूले सुनियोजित रूपमा एकीकृत पार्टीको पुनःविभाजनको प्रपञ्च रचे ।

दोस्रो बाह्य कारणलाई खोतल्दै जाँदा हामी कम्युनिष्टहरूको नेतृत्वमा आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाउँदछौं । तीनै तहमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भयो । समृद्धि र समाजवादको दिशामा देश तीव्र गतिमा अघि बढ्यो । त्यसैले, समाजवादको यो अभियानलाई रोक्न प्रतिक्रियावादीहरूका लागि सरकार र एकीकृत पार्टीलाई विघटन र विभाजन गर्न अपरिहार्य बन्न गयो । यही षड्यन्त्रअन्तर्गत पार्टी नेतृत्वका निष्कासन, विघटित संसद्को पुनःस्थापना, राष्ट्रपतिको मानमर्दन, ‘कम्फर्टेबल सरकार’ गठनको प्रयास, दक्षिणपन्थीसँग सहकार्य आदि परिघटनाहरू प्रायोजित गरिएका हुन् ।

० पार्टीको कानुनी विभाजनसँगै तपाईं आफ्नो समग्र राजनीतिक लिगेसीलाई छाडेर प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुभयो, राजनीतिक हिसाबले नेकपा (एमाले) को नेताका रूपमा स्थापित हुनुभयो । कुन बिन्दुमा तपाईं निष्कर्षमा पुग्नुभयो कि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्रै आन्दोलनलाई अगाडि बढाउन सम्भव छ ?

समाजवादको निर्माणका लागि देशको विकास र समृद्धिलाई एउटा निश्चित बिन्दुसम्म पुर्‍याउन अनिवार्य हुन्छ । त्यसका लागि प्रतिस्पर्धाबाट राजनीतिक श्रेष्ठता स्थापित गर्दै राष्ट्रको नेतृत्व गर्नुपर्दछ । नेपालमा वामपन्थीहरूको जनमतको बाहुल्य रहेको तर त्यो विभाजित अवस्थामा भएकाले राजनीतिक श्रेष्ठताका निम्ति कम्युनिष्टहरूको एकता ऐतिहासिक आवश्यकता बन्न गएको हो ।

यस दृष्टिकोणबाट हेर्दा म प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुको अर्थ फुटका विरुद्ध एकताको पक्षपोषण गर्नु हो । यसको राजनीतिक अर्थ समृद्धि र समाजवादको पक्षमा दृढतापूर्वक उभिनु हो, सङ्घर्ष गर्नु हो । आत्मनिर्भर अर्थतन्त्रको जगमा नै समाजवादको संरचना खडा गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय स्वाभिमान, स्वाधीनता र आत्मनिर्णयको अधिकारको रक्षा गर्नु जरुरी हुन्छ । त्यसैले, म प्रधानमन्त्रीको पक्षमा उभिनुको अर्थ ः राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढ समर्थन पनि हो ।

मैले आफ्नो समग्र राजनीतिक ‘लिगेसी’ छाडेर एमालेको ‘लिगेसी’ अङ्गीकार कदापि गरेको होइन । मेरो अडान र पक्षधरतालाई यो रूपमा बुझ्नु/बुझाउनु उचित होइन । निश्चय पनि सर्वोच्च अदालतको फैसलाबाट कानुनी रूपमा त्यसो हुन गएको प्रतीत हुन्छ । एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रवाद, समाजवाद मेरो विगतको लिगेसी थियो । आज पनि त्यही हो ।

एमालेको लिगेसी पनि त्यही थियो, त्यही छ । त्यसैको परिणामस्वरूप नै एकीकृत पार्टी (नेकपा) को जन्म भएको थियो । निश्चय पनि अदालतको आदेशले पुरानो स्वरूपको एमाले स्थापित गरिदिएको छ । तर, आज हामीले पुनर्निर्माण गरेको पार्टी सारतः नयाँ एमाले’ हो, एकीकृत पार्टीको निरन्तरता हो, त्यसको नयाँ स्वरूप हो ।

२०७५ जेठ ३ गते मैले कमरेड केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख नेताका रूपमा स्वीकार गरेको थिएँ । एमालेले नवौं महाधिवेशनमा उहाँलाई प्रमुख नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसैले गुटवादीहरूले कमरेड ओलीलाई प्रमुख नेतृत्वबाट अपदस्थ गर्न खोज्दा म नेतृत्वको रक्षा गर्न दृढतापूर्वक उभिएको हुँ

० प्रचण्डसँग तपाईंको ४० वर्षभन्दा लामो सहयात्रा रह्यो । यो अवधि अन्तरसङ्घर्ष र एकताका विभिन्न चरणबाट गुज्रिएको छ । आज प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता, उपयोग र अवसरवादको पर्यायवाचीजस्तो बन्न पुग्नुभएको छ । नेपाली राजनीतिमा प्रचण्डलाई वैचारिक राजनीतिक रूपमा कसरी चरित्र चित्रण गर्नुहुन्छ ?

सामान्तवाद विरोधी जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग चार दशकभन्दा लामो अवधिसम्म मेरो सहकार्य भयो । यो समय निकै उतारचढाव र उथलपुथललको बीचबाट गुज्रियो । निश्चय पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको भूमिकालाई पूर्णतः अस्वीकार गर्नु ‘पूर्वाग्रही’ बन्नु हुनेछ । यो पनि त्यत्तिकै सत्य हो- नेपालको कम्युनिष्ट आन्दोलनको विघटन/विसर्जनमा पनि उहाँको उत्तिकै उल्लेखनीय भूमिका रह्यो, त्यो निरन्तर जारी छ ।

निःसन्देह कमरेड प्रचण्डको मूल प्रवृत्ति र विशेषता निम्न पुँजिवादी अधैर्यता, अस्थिरता र अविश्वसनीयता नै हो । वैचारिक दृष्टिले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले अवसरवाद, साङ्गठनिक रूपमा व्यक्तिवाद (एकैसाथ नोकरशाही, एकाधिकारवाद र व्यक्तिवादी अराजकवाद),

व्यावहारिक एवम् सांस्कृतिक रूपमा व्यक्तिवादी उपयोगितावाद उहाँका विशेषताहरू हुन् । प्रत्येक विषयलाई ‘कार्यनीतिक’ रूपमा अभ्यास गर्नु, अन्तरविरोधहरूलाई उपयोग गर्नु, अन्तरविरोध सिर्जना गर्नु, त्यसमा खेल्नु÷खेलाउनु नै हुन् । पछिल्लो दृष्टान्त पार्टी एकता र यसबाट सिर्जित परिघटनाहरू हुन् ।

यही वैचारिक राजनीतिक साङ्गठनिक एवम् सांस्कृतिक विचलनको परिमाण स्वरूप कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ । आशा गरौं अब उहाँले आफ्नो ‘कार्यनीति’ परिवर्तन गर्नुहुनेछ ।

० नेपाली राजनीतिमा माओवादी आन्दोलनको स्थानलाई कसरी हेर्नुहुन्छ ?
नेपालको राजनीतिमा माओवादी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको निष्कर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दस्तावेजमा उल्लेख गरिएको छ । यसरी नै एमाले आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको यही दस्तावेजमा उल्लिखित छ । मेरो दृष्टिमा नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादीले मूलतः बायाँ प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही बायाँ अतिवादीको गल्तीहरू पनि गर्‍यो ।

अर्कोतिर, एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको मूलतः मध्यमार्गी प्रवृत्तिको प्रतिनिधित्व गर्दै आयो । जसले केही अतिवादी गल्तीहरू पनि गर्‍यो । २०७२/७३ सालसम्म आइपुग्दा यी दुवै आन्दोलनको संयोजन र धक्काबाट आजको यो ऐतिहासिक परिवर्तन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो ।

निश्चय पनि आन्दोलनका विभिन्न धाराहरूको भूमिकाको मूल्याङ्कन र समीक्षा समापन टुङ्गिएको छैन । यो जारी छ, निरन्तर जारी रहनुपर्दछ । किनभने, यो बहस र विवेचनाले आन्दोलनको पथप्रदर्शक सिद्धान्त, नीति, कार्यक्रम, योजना र नेतृत्वको समृद्धिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

० नेकपा (एमाले) र माओवादी दुईवटा फरक स्कुलिङ, अभ्यास र पृष्ठभूमिबाट हुर्किंदै आए । खास अवधिमा ती दुईबीच निकै तिक्तता र निषेधको अवस्था पनि रह्यो । आज नेकपा (एमाले) लाई आन्दोलनका दुवै धारका असल परम्पराको प्रतिनिधि पार्टीका रूपमा विकास गर्नु जरुरी छ । वैचारिक, सङ्गठनात्मक र भावनात्मक एकताका लागि कसरी अगाडि बढ्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

समाज र प्रकृति अर्थात् जीवन र जगतको परिर्वतनका वस्तुगत नियमहरू हुन्छन् । ती नियमहरू स्वतःस्फूर्त रूपका साथै सचेत हस्तक्षेपद्वारा क्रियाशील भइरहेका हुन्छन् । मानिसको सचेत एवम् साङ्गठनिक हस्तक्षेपद्वारा निरन्तर समाजमा परिवर्तन भइरहेको हुन्छन् । मानिसले स्वयम् र प्रकृतिलाई विचार, सिद्धान्त, नीति कार्यक्रम, योजनामार्फत हस्तक्षेप गर्दै रूपान्तरणको प्रक्रियालाई अभ्यास गर्दछ । निःसन्देह विगतमा एमाले र माओवादी फरक-फरक स्कुलिङ र अभ्यासबाट हुर्किंदै आएका हुन् । ती नकारात्मक परिघटनाहरू हामीले अवलम्बन गरेका विपरीत नीतिहरूका परिणाम थिए । तर, हामीले यो पनि कदापि बिर्सन हुँदैन, समान्तवाद-समाजवादका विरुद्धको सङ्घर्षमा एकअर्काको परिपूरकको भूमिका पनि हामीले निर्वाह गर्दै आएका हौं । त्यसैले त्यही कारणले युगान्तकारी राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको परिमाणस्वरूप पार्टी एकीकरणको बीजारोपण भएको हो ।

आज दुवै पक्षका फुटवादी प्रवृत्तिहरू अलग भए पनि सकारात्मक प्रवृत्तिहरू नया“ आधारमा एकताबद्ध भएका छौं । अब एकीकृत पार्टीलाई सुदृढ गर्न विचारधारात्मक दृष्टिले मार्क्सवाद-लेनिनवाद, नेपालको विशेष सन्दर्भमा जबजको समृद्धीकरण अपरिहार्य बन्न गएको छ । विचारधारा वा सिद्धान्त फगत जडसूत्र होइन, हुनु पनि हुन्न । यो जीवन र जगत्का परिवर्तन सँगसँगै विकसित हुनुपर्दछ । राजनीतिक दृष्टिले समाजवादको मोटो रूपरेखा कोरिएको छ । तर, नेपालको विशिष्टताअनुरूप समाजवादको ठोस मोडेल निर्माण गर्न निरन्तर प्रयास गर्नु आवश्यक छ । समृद्धि र विकासका आवधिक योजनाहरू कार्यान्वयन गर्न सिङ्गो पार्टी पङ्क्ति र जनपरिचालनमा जोड लगाउनुपर्दछ ।

साङ्गठनिक दृष्टिले, जनआधारित पार्टी, अनुशासित र सक्रिय सदस्यहरू, जनप्रिय कार्यशैली तथा वैचारिक स्पष्टता प्राप्त गर्न सङ्गठनमा निरन्तर प्रशिक्षण, अन्तक्र्रिया, जनसंवाद, आत्मसमीक्षा गर्नु आवश्यक हुन्छ । यी कुरा मात्र पर्याप्त होइन, सङ्गठनको शुद्धीकरण र सुदृढीकरणका लागि भावनात्मक एकता र अन्तरघुलन झनै जरुरी हुन्छ । परस्पर सम्मान, स्नेह, सद्भावका साथै एकअर्काका निम्ति निःसर्त बलिदान, समर्थन र सहयोगले नै गहिरो भावनात्मक एकता एवम् अन्तरघुलन पैदा हुन्छ । यसले सङ्गठनलाई आत्मानुशासित र सुदृढ बनाउँछ ।

० तपाईंलाई प्रधानमन्त्रीका कुन पक्षले बढी आकर्षित र प्रभावित गर्‍यो ?
प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्‍यो कि !

० अझै पनि तपाईंनिकट धेरै युवाहरू माओवादी केन्द्रभित्र छन्, के सन्देश दिनुहुन्छ ?
वास्तवमा यो देशका कर्णधार युवाहरू नै हुन् । राष्ट्रिय स्वाधीनता, समृद्धि र समाजवाद, क्रान्तिका उपलब्धिहरूको रक्षा, स्थायित्व, सुशासन, कम्युनिष्ट आन्दोलनको एकता आजका ज्वलन्त ऐतिहासिक कार्यभारहरू हुन् । आउनुहोस्, फुटवाद र विसर्जनवादको विरोध गर्दै एकीकरण र समृद्धिको मूल प्रवाहमा समाहित र सहभागी बनौं ।

प्रतिकृया दिनुहोस्