RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१८ गते
२२१७ पटक

काठमाडौं । चीनबाट मंगलबार नौ लाख कोरोना भाइरसविरुद्धको खोप काठमाडौं ल्याइँदैछ । चीनले अनुदानमा दिने भनेको १० लाख भेरोसिल खोपमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं ल्याइन लागेको हो ।

त्योमध्ये आठ लाख चीनको राजधानी बेइजिङबाट ल्याउन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो विमान सोमबार राति नै बेइजिङ गइसकेको छ ।

उक्त विमानबाट मंगलबार दिउँसो २ बजे काठमाडौंमा खोप ल्याइसकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । त्यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने दुई लाखमध्ये मंगलबार एक लाख र बुधबार एक लाख खोप ल्याइने छ ।

दुवै खोप हिमालयन एयरलाइन्सका चार्टर्ड विमानमार्फत ल्याइने छ ।

कसले लगाउन पाउँछन् यो खोप ?
चीनबाट यसअघि आएको आठ लाख डोज खोप १८ देखि ५९ वर्षको समूहले लगाएको थियो । यसको प्रभावकारीता बढी नै भएको दाबीसमेत गरिएको छ ।

यसबालिको खोप भने ६० देखि ६४ वर्ष उमेर समूहले लगाउन पाउने सम्भावना रहेको पनि बताइएको छ । खोपको मात्रा कम भएका कारणले १८ देखि ५९ वर्ष उमेर समूहले पनि पूर्ण खोप पाइसकेको छैन ।

तर ६० देखि ६४ वर्ष उमेर समूह भने दुवै खोप (भारतबाट पहिलो पटक आएको कोभिशिल्ड र चीनबाट आएको भेरोसिल)  लगाउनबाट वञ्चित रहेको छ ।

त्यसैले पनि यसपालि यो समूहलाई खोप दिने प्रवल सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत बताउँछ । खोप आएपछिमात्र छलफल गरी टुंगो लगाउने पनि स्रोत बताउँछ ।

प्रतिकृया दिनुहोस्