RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२० गते
१०३७ पटक

काठमाडौं । विपक्षी एमालेनिकट जनसंगठनहरुले पार्टी अध्यक्ष ओलीले सर्त नमाने अलग पार्टी बनाउने चेतावनी दिएका छन् । बिहीबार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै १७ जनसंगठनहरुले पार्टी विधानविपरीत भएका निर्णय सच्याउन अध्यक्ष ओलीसँग आग्रह गर्दै नमाने अलग पार्टी बनाउने चेतावनी दिएका हुन् ।

अध्यक्ष ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको उनीहरुको आरोप छ । विज्ञप्तिमा भनिएको छ— ‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानविपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौँ । तत्काल फिर्ता लिन माग गर्दछौँ ।’

एकता कायम रहनको लागि संगठनहरुले ०७५ जेठ २ कै अवस्थामा पार्टी फर्किनुपर्ने अडान राखेका छन् । ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ ।

१८ जेठमा ओली निकट जनसंगठनहरुले पनि संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्री र सरकारका गतिविधिविपरीत संलग्न नेताहरुलाई निष्कासनको माग गरेका थिए ।

प्रतिकृया दिनुहोस्