RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२२ गते
८०१ पटक

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ ।

सामाजिक सुरक्षा कोषले एक सूचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि निजी तथा संगठित संस्थाहरुलाई आग्रह गरेको थियो । तर सरकारको नीति नियम अनुरुप व्यावसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बिमा तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवा सुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले दवाव दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरुलाई मर्का पर्नेगरी सामाजिक सुरक्षा योजनामा सहभागी गराउन खोजिएकाले आफूहरु विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए ।

कोभिड महामारीको कारणले बैक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचीकृत हुन नसकिने संघले जनाएको छ । विद्यमान व्यवस्थाहरु परिमार्जन गर्नुपर्ने संघको ठम्याई रहेको अध्यक्ष रेग्मीले बताए । सामाजिक सुरक्षा कोषमा जर्बजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले चेतावनी दिए ।

बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका परिवारका सदस्यलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

कारोबार दैनिकबाट………

प्रतिकृया दिनुहोस्