RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२४ गते
५७४ पटक

नेपालले सिनियर अन्तर्राष्ट्रिय प्रदर्शनमा एक विर्सनलायक नतिजा ब्यहोरेको दिन। विश्वकप २०१४ को एसियाली छनौटको दोस्रो चरणमा जोर्डनलाई प्रतिद्धन्द्धी पाएको नेपालले त्यस दिन भएको पहिलो लेगमा ९-० गोलको हार ब्यहोरेको थियो।

घरेलु मैदानमा फराकिलो जितपछि दोस्रो लेग नेपालमा खेल्न आइपुगेको जोर्डन दशरथ रंगशालामा भने १-१ गोलको बराबरीमा सीमित भयाे। दशरथ रंगाशालामा उपस्थित हजारौँ समर्थकसामु नेपाली टोलीले डटेर खेल्यो। तर एउटा तथ्य के थियो भने यस खेलमा नेपालले जितेर पनि पुग्ने थिएन, १० गोलअन्तरको जित हात पार्नुपर्ने थियो। जुन असम्भव थियो। जोर्डन हार्न चाहँदैन थियो, उसले अगाडि बढ्न आवश्यक गोल पहिलो लेगमै गरिसकेको थियो। नेपाल दोस्रो चरणबाटै बाहिरियो, जोर्डन तेस्रो चरणमा पुग्यो।

जोर्डनसँग नै नेपालले सोमबार खेल्दै छ, विश्वकप २०२२ को एसियाली छनौटको दोस्रो चरणमा। यसपटक समूहमा प्रतिस्पर्धा गरिरहेको नेपालले जोर्डनको मैदानमा भएको पहिलो खेलमा ३-० गोलको हार ब्यहोरेको थियो। समूह ‘बी’ मा नेपाल ६ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा छ। ५ खेलबाट १० अंक भएको भएको जोर्डन तेस्रोमा छ। ५ खेलबाट १५ अंक भएको अस्ट्रेलिया पहिलो र ६ खेलपछि १० अंक भएको कुवेत दोस्रो स्थानमा छ। पाचौँ तथा अन्तिम स्थानमा रहेको चाइनिज ताइपेईले ६ खेल खेले पनि अंक जोड्न सकेको छैन।

जोर्डन एसियाली फुटबलमा सशक्त टोली मानिन्छ। एसिया कपका पछिल्ला लगातार तीन संस्करण खेलेको जोर्डन फिफा बरियतामा हाल ९५ औँ स्थानमा रहेको छ। जोर्डन सन् २०१४ को विश्वकपका लागि अन्तर महादेशीय प्ले अफ छनौटसम्म पुगेको थियो। उरुग्वेसँग पराजित भएपछि जोर्डन पहिलोपटक विश्वकप खेल्ने अवसरबाट वञ्चित भएको थियो। नेपाल भने हालसम्म विश्वकपको एसियाली छनौटमा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेको छैन भने एसिया कप अहिलेसम्म खेलेको छैन।

नेपालले बिहीबार राति भएको खेलमा कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। त्यही मैदानमा नेपाल र जोर्डनबीच नेपाली समयअनुसार आइतबार राति पौने १० बजे खेल सुरु हुने छ। लगातार सात खेलमा गोल गर्न समेत नसकेको नेपाली टोलीले त्यसपछि खेलेका पछिल्ला  तीन  खेलमा दुई जित र एक हारको नतिजा निकालेको छ। यता जोर्डनले पछिल्ला दुई खेलयता जित हात पार्न सकेको छैन। पछिल्लो खेलमा भियतनामसँग १-१ गोलको बराबरी खेल्नुअघि यूएईसँग ५-० गोलको हार ब्यहोरेको थियो। त्यसअघि लगातार दुई खेलमा जित हात पारेको थियो।

केही महिनाअघि नेपालमै भएको त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध गोल गर्दै नेपालले १८ महिनायताको गोल खडेरी अन्त्य गरेको थियो। त्यसपछि इराकविरुद्ध भएको मैत्रिपूर्ण खेलमा हार ब्यहोरे पनि गोल गरेको थियो।

चाइनिज ताइपेईविरुद्ध प्राप्त  जितले नेपाल समूहमा चौथो हुने लगभग निश्चित छ। समूहमा हरेक टोलीले ८/८ खेल खेल्छन्।  समूहको चौथो स्थानमा रहेमा एसिया कपका लागि छनौटको तेस्रो चरणमा छानिने सम्भावना रहन्छ।

 

प्रतिकृया दिनुहोस्